इलाम । आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउन हुने इलामका पर्यटकीय क्षेत्र अहिले सुनसान बनेको छ । पर्यटकले खचाखच हुने चियाबारी र पर्यटकीयस्थल सुनसान बनेको एक हप्ताभन्दा बढी भइसक्यो । नेपालका विभिन्न स्थान, भारत पश्चिम बंगालका पर्यटक र तेस्रो देशका पर्यटक आउने सूर्योदय नगरपालिकाको कन्याम, अन्तु , सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडा सुनसान बन्न थालेका हुन । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण पर्यटकको आवतजावत रोकिएपछि यी क्षेत्र सुनसान भएका हुन् । यहाँका पर्यटकीय क्षेत्रहरु कन्याम, श्रीअन्तु, पशुपतिनगर, फिक्कलका साथै सन्दकपुर, पानीटार, कुईभीर, ढाप पोखरी जस्ता क्षेत्र सुनसान भएको पर्यटन ब्यवसायी बताउँछन् । भारतीय बाटो भएर आउने पर्यटक शून्यजस्तै भएका छन् । वनभोज र भ्रमणमा आएका पर्यटकले भरिभराउ हुने कन्याम सुनसान भएपछि त्यहाँ ब्यवसाय गर्ने ब्यवसायीलाई हातमुख जोड्न समस्या पर्न थालेको छ । कन्यामका होटल संचालक टेकराज गिरीले पर्यटक आउन छोडेको एक हप्ताभन्दा बढी भएको बताए ।
कन्याममा १ सय जति ब्यावसायिक ट्रली–ठेला सञ्चालनमा रहे पनि पर्यटकको चाप घटेपछि १५/२० वटा मात्र सञ्चालनमा रहेको स्थानीय ब्यवसायी गोपाल गिरीले जानकारी दिए । झुल्के घाम हेर्न र सूर्योदयको दृश्यावलोकनका लागि दैनिक हजारौ पर्यटक पुग्ने अन्तु डाँडा पूरै सुनसान भएको स्थानीय होम-स्टे ब्यवसायी रुद्र घिमिरेले जानकारी दिए ।भारतसँग सीमा जोडिएको पशुपतिनगर बजारमा चहलपहल सुनसान भएको लामै समय भइसकेको छ । भारतको सिक्किम, दार्जिलिङ, कालिम्पोङ लगायत पश्चिम बङ्गालबाट आएका पर्यटकले खचाखच हुने पशुपतिनगर बजार अहिले ठप्प जस्तै भएको छ ।तेस्रो देशका पर्यटकको ओईरो लाग्ने प्रदेश एककै प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुर समेत सुनसान भएको छ । पर्यटक जान छोडेपछि होटल ब्यवसायी थप समस्या झेल्न बाध्य भएको बताउँछन् । कन्याम, अन्तु, फिक्कल बजार, इलाम बजार, सन्दकपुर जस्ता पर्यटकीय क्षेत्रका होटलसमेत धरासयी बन्ने अवस्थामा पुगेको होटल ब्यवसायी संघ इलामका अध्यक्ष देबी पौडेलले जानकारी दिए ।