ताप्लेजुङ । ताप्लेजुङमा व्यावसायिकरूपमा अण्डा उत्पादन सुरु गरिएको छ । सदरमुकाम फुङ्लिङका एक किसानले जिल्लामै पहिलोपटक व्यावसायिक रूपमा अण्डा उत्पादन गर्न थाल्नुभएको हो ।

फुङ्लिङ नगरपालिका–४ का स्थानीय नरेन्द्र मादेनले जिल्लामै पहिलो लेयर्स जातको कुखुराबाट अण्डा उत्पादन गर्न सुरु गर्नुभएको हो । मादेनले २४ लाख रुपियाँ लगानी गरेर अण्डा उत्पादनका लागि एक वर्षअघि अर्थात् गत वैशाखदेखि लेयर्स जातको कुखुरापालन (फार्म) सुरु गर्नुभएको र हाल उहाँको व्यवसायबाट दैनिक झन्डै दुई हजार अण्डा उत्पादन हुँदै आएको छ ।

अहिले लेयर्स फार्ममा दुई हजार ३०० वटा कुखुरा रहेका र दैनिक एक हजार ८०० बढी अण्डा उत्पादन हुँदै आएको उहाँले जानकारी दिनुभयो । लेयर्स जातको कुखुराले १८ महिनासम्म अण्डा उत्पादन गर्ने र सो अवधिमा एउटा कुखुराले ४०८ वटासम्म अण्डा दिने उहाँले बताउनुभयो ।

हाल दैनिक उक्त परिमाणमा हुने उत्पादनले फुङ्लिङ बजारमा करिब २५ देखि ३० प्रतिशत अण्डाको व्यापार धानेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार फुङ्लिङ बजारका अधिकांश खुद्रा व्यापारीले अण्डा लैजाने गरेका छन् ।

स्थानीय बजारमा अण्डा प्रतिकार्टुन (२१० गोटा) दुई हजार ३५० रुपियाँ मूल्य रहेको र सोही मूल्य दरमा कारोबार हुँदै आएको उहाँले बताउनुभयो । जिल्लामा अण्डाको माग राम्रो रहेको तर बजारको जोखिम पनि उत्तिकै रहेको उहाँ बताउनुहुन्छ । करिब ७० प्रतिशत अण्डा जिल्लाबाहिरबाट आयात हुने भएकाले कुनै बेला बाहिरबाट आउने अण्डा सस्तोमा कारोबार हुने हुँदा मूल्यमा हुने प्रतिस्पर्धाले बजारको जोखिम बढाउने उहाँको भनाइ छ ।

यता जिल्लामा उत्पादन हुने अण्डाप्रति स्थानीय खुद्रा व्यवसायी तथा उपभोक्ता भने आकर्षित छन् । यहाँ उत्पादन हुने अण्डा स्वस्थ तथा ताजा हुने भएकाले खुद्रा व्यवसायीका साथै उपभोक्ता आकर्षित हुँदै आएका छन् । हालको उत्पादनबाट भने राम्रै फाइदा रहेको उहाँ बताउनुहुन्छ । सबै खर्च कटाएर मासिक डेढ लाख रुपियाँ बराबर आम्दानी हुँदै आएको उहाँले जानकारी दिनुभयो । उहाँले पछिल्लो महिना भने फाइदा घटेको बताउनुभयो ।

अहिले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को असरले व्यापार खस्किएसँगै सस्तो मूल्यमा अण्डा बिक्री गर्नुपर्दा सोहीअनुसार आम्दानी पनि घटेको उहाँले बताउनुभयो । हिजोआज प्रतिकार्टुन दुई हजार ३५० रुपियाँबाट मूल्य घटेर एक हजार ९०० रुपियाँ सम्ममा अण्डा बिक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

मादेनले अण्डा उत्पादनका लागि लेयर्स कुखुरा फार्म सञ्चालन गर्न थालेपछि केहीलाई रोजगारीसमेत मिलेको छ । उहाँका अनुसार मासिक २० हजार रुपियाँ तलब सुविधा पाउने गरी फार्ममा एक जना कामदार छन् भने अन्य पाँच जना कर्मचारीले आंशिक रोजगारी पाएका छन् ।

फार्मबाट निस्कने कुखुराको सुली मल तरकारीलगायत खेतीका लागि प्रभावकारी हुने पनि फार्म सञ्चालक मादेनले बताउनुभयो ।