अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा गठित खाद्य व्यवस्थापन समितिले शनिबार सम्भावित अभावका समयमा के गर्न सकिन्छ भनेर विशेष छलफल गरेको छ ।

नगर क्षेत्रमा अहिले नै खाद्यान्नको अभाव नभए पनि सात दिने लकडाउन लम्बिएको खण्डमा के गर्ने ? भन्ने विषयमा छलफल केन्द्रित भएको थियो । छलफलका क्रममा किराना पसल, सब्जी पसललाई दिनभर नै खुल्ला गर्ने कि खाद्यान्नको प्याकेज बनाएर विशेष सहयोगीमार्फत खाद्यान्न सशुल्क वितरण गर्ने भन्नेमा पनि छलफल भएको थियो ।

सहभागीले नगरमा उत्पादित कृषिजन्य बस्तु बजारमा पुराउन नसकेर कुहिने अवस्थामा रहेकाले कृषक दोहोरो मारमा परेको उल्लेख गरे भने बजार क्षेत्रमा ताजा तरकारी पाउन नसक्दा उपभोक्ता पनि मार परिरहेकाले विशेष गरेर तरकारी बालीका बारेमा सोचिनु पर्नेमा जोड दिएका थिए ।

नगरकी उपप्रमुख कमला खतिवडा आचार्यको अध्यक्षतामा भएको छलफलमा मेयर हरिकुमार राना, वडाध्यक्षहरु, नेका अर्जुनधारा सभापति हेमराज खरेल, नेकपा अध्यक्ष प्रेमसागर सापकोटा, उद्योगी व्यवसायीलगायतले आफ्ना सुझाव राखेका थिए ।

लकडाउनको संकट मोचनका लागि नगरपालिकाले उपमेयर खतिवडाको संयोजकत्वमा हिजो (शुक्रबार) पाँच सदस्यीय खाद्य व्यवस्थापन समिति गठन गरेको थियो । जसको सदस्यमा च्याम्बर अफ कमर्शका संयोजक पुष्प रेग्मी, शनिश्चरे उद्योग वाणिज्य संघका अध्य वसन्त सोमानी, समाजसेवी तथा उद्योगी नवीन गट्टानी र नगरकी बोर्ड सदस्य सारदा भट्टाराई रहेका छन् ।