विनय तिम्सिना,
इलाम । इलाममा चियाको पहिलो टिपाइ (फस्ट फ्लस) शुरु हुने वेला बितेको छ । फागुन(चैत्रमा भएको वर्षाको कारणले गर्दा इलाममा चियाको फस्ट फ्लस चैत्रको पहिलो सातामा नै आएको हो ।
यसवर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको थियो तर विश्वभरि फैलेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमका कारण चिया प्रशोधन कारखना बन्द भएका छन् भने चिया बगानका किसान मारमा परेका छन् ।
उत्पादनको पहिलो सिजनको चिया गुणस्तरको हिसाबले राम्रो मानिन्छ । उत्पादन कम भए पनि फस्ट फ्लस चियाको मूल्य उच्च हुन्छ । पहिलो टिपाइ जति छिटो बजारमा पुर्याउन सक्यो उति त्यसपछिको बजारमा सहयोग मिल्ने भएकाले कारखानाले थोरै हरियो पत्ति भए पनि प्रशोधन गर्ने गरेका थिए ।
यसपटक समयमा पानी परेकोले चियाले राम्रो मुना दिएको र छिट्टै चिया टिप्न शुरु भएको थियो । तर चिया कारखानाहरु सञ्चालमा नआएपछि बारीमै चिया हुर्केर गएको थोरौ टिपेर आफ्नो उपयोगको लागि मात्र बनाउन बाध्य भएको इलाम नगरपालिका-१ साँखेजुङकी चिया किसान दिपा तिम्सीनाले बताइन् ।
यसरी नै चियाको पहिलो टिपाइ शुरु भएसँगै चिया कारखानाले पनि हरियो पत्तिको मूल्य निर्धारण गरेर चिया प्रशोधन गर्नुपर्नेमा लकडाउनका कारण कृषकबाट हरियो पत्ति लिन नसकिएको ग्रिन हिल अर्थोडक्स चिया कारखाना नगरपालिका-१ साँखेजुङका सञ्चालक टंक दाहाल बताउँछन् । कारखाना बन्द गर्दा किसानलाई मात्र हैन देशको अर्थतन्त्रमै ठूलो धक्का लाग्ने उनको भनाइ छ ।
अर्थोडक्स चिया उत्पादनका लागि अगाडि रहेको यो जिल्लाका कृषकले वार्षिर्क ५० लाख किलोग्राम तयारी चिया उत्पादन गर्ने गरेको चिया तथा कफी विकास वोर्डको तथ्यांक छ । इलाम जिल्लामा २६ वटा ठूला र ५० वटा साना चिया कारखाना सञ्चालित छन् । यहाँका करिब १२ हजार कृषकले कारखानालाई चियापत्ति बिक्री गर्दै आइरहेको छन् ।