0 Shares

अर्जुनधारा । बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले झापाका १५ वटा स्थानीय तहलाई ८ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

सहकारीको हिजो बसेको बैठकले कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि गरिएको लकडाउनमा दैनिक ज्यालादारी गरी परिवारको पालनपोषण गर्दै आएका विपन्न वर्गका लागि सहयोग पुगोस् भन्दै उक्त निर्णय गरेको हो ।

सिम्रिकको उक्त निर्णयसँगै बिहीबारदेखि सबै स्थानीय तहलाई रकम हस्तान्तरण गर्न थालेको छ । निर्णय अनुसार झापाका १४ वटा पालिकालाई ५०-५० हजार र केन्द्रीय कार्यालय रहेको बिर्तामोड नगरपालिकालाई एक लाख रुपैयाँ नगद उपलब्ध गराउने भएको छ ।

यसैबीच, सिम्रिक सहकारीका अध्यक्ष कमल बस्नेत, सचिव सुवास भट्टराई लगायतको टोली अर्जुनधारा नगरपालिकालाई नगद ५० हजार उपलब्ध गराएको छ । ज्याला मजदुरी गरेर परिवारको पालनपोषण गर्दै आएका विपन्न वर्गलाई घर घर पुगेर खाद्यान्न वितरण गर्न कठिनाइ हुने भएकाले पालिकामार्फत सहयोग पर्याउन नगद प्रदान गरिएको संस्थाका अध्यक्ष बस्नेतले बताए ।

सहयोग रकम बुझ्दै अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले सिम्रिकले विपन्न वर्गका लागि गरेको सहयोगको प्रशंसा गरेका थिए । उनले भविष्यमा पनि संस्थाले सामाजिक उत्तरदायित्वलाई जिम्मेवारीपूर्वक निर्वाह गर्न अनुरोध गरे । नगरपालिकालाई सहयोग गर्ने पहिलो सहकारी सिम्रिक भएको पनि मेयर रानाले सुनाए ।

सिम्रिकका अध्यक्ष बस्नेतका अनुसार बिहीबार नै झापा, बुद्धशान्ति गाउँपालिका, मेचीनगर, अर्जुनधारा, कनकाई र शिवसताक्षी नगरपालिकामा नगद सहयोग हस्तान्तरण गरिएको छ ।

यसैबीच, अर्जुनधारा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनलाई अर्जुनधारा ११ का गणेश ढुंगानाले १५० केजी चामल र बिर्तामोड ३ का शान्ता जबेगु र गजेन्द्र जबेगुले एक सय कार्टुन पानी प्रदान गरेको नगरका जिन्सी शाखा प्रमुख तिवेन्द्र अधिकारीले जानकारी दिए ।