0 Shares

इलाम । प्रदेश नम्बर १ को चर्चित पर्यटकीय स्थल इलामको कन्याम यसपालीको नयाँ बर्षमा सुनसान भएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण मुलुक लकडाउन भएपछि सूर्योदय नगरपालिका स्थित कन्याम सुनसान बनेको हो ।

प्रत्येक नयाँ बर्षका दिन खचाखच हुने कन्यामका हरियाली चिया बगान यतिबेला सुनसान देखिएको छ ।

दर्जनौं घुप्ती पसल साथै होटल तथा रेष्टुरेन्टहरु सुनसान छन् । कारोबार ठप्प भएको छ । पर्यटक नआएपछि स्थानीय होटल ब्यवसाय, ठेला पसल, घोडा ब्यवसाय चौपट भएको छ ।

पर्यटनमै आश्रित स्थानीयबासीको रोजीरोटीमा समस्या आएको स्थानीय होटल ब्यवसायी टेकराज गिरीको भनाइ छ ।

गिरी भन्छन्, ‘लाखौं रुपैंयाँ ऋण लिएर खोलिएका होटलहरु सबैभन्दा धेरै मारमा छन्, महामारीको असर पर्यटन क्षेत्रले प्रत्यक्ष भोगिरहेको छ ।’

‘ग्रिन कार्पेट’को उपमा पाएको कन्याम हरियाली चिया बगानका कारण चर्चित छ । पछल्लो समय घोडचढी र जातीय पहिरनका कारण कन्याममा पर्यटकको ओहिरो लाग्ने गर्दथ्यो ।

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउन इलामको पर्यटन क्षेत्रमा पनि परेको हो । चिया उद्योगहरु संचालनमा आए पनि पर्यटन क्षेत्र ठप्प बन्न पुगेको हो ।

कोरोनाबाट बच्न नगरले सावधानी अपनाएकाले भाइरस नियन्त्रणमा आएपछि पर्यटन क्षेत्र विस्तार बामे सर्ने सूर्योदय नगरपालिकाका कानुनी सल्लाहकार लेखनाथ दाहालको भनाइ छ ।

‘यतिबेला सबै सचेत भएर बस्ने बेला हो, अहिले घरमै बसेर सावधानी अपनाऔं विस्तारै सबैखाले ब्यवसायले गति लिन्छ,’उनले भने ।