बिर्तामोड । लकडाउनका बेला खाद्यान्नका पसल खोल्ने पूर्ववत् निर्णयबाट बिर्तामोड नगरपालिका पछाडि सरेको छ ।

यसअघिको निर्णय परिवर्तन गर्दै नगरपालिकाले विहानको समय तोकेको हो । लकडाउन उलङ्घन बढेकाले अत्यावश्यक सामग्री खरिदका लागि तोकिएको समय हेरफेर गरिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले खाद्य तथा अत्यावश्यकीय सामग्री खरिद विक्रीका लागि बजार खुल्ने समय परिवर्तन गरिएको बताए । उनका अनुसार विर्तामोड नगरपालिकाको आइतबार सम्पन्न बैठकले विहान ८ बजेदेखि ११ बजेसम्म खाद्य पसल खुल्ने र किनमेल गर्न सकिने समय तोकेको छ ।

यसअघि १२ देखि ३ बजेसम्म खाद्य तथा अत्यावश्यकीय सामग्री खरिद विक्रीका लागि समय तोकिएको थियो । तोकिएको समयमा लकडाउन उलङ्घन तीव्र भएपछि नगरपालिकाले आफ्नो निर्णय फेरेको हो ।

लकडाउन उलङ्घन गर्नेलाई प्रहरीले सडकमा दुई घण्टा उभ्याएर सचेतना कक्षा चलाइरहेको छ ।