झापा । अर्जुनधारा नगरपालिकाले स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा सोमबार एकै दिन ९ हजार केजीभन्दा बढी खाद्यान्न संकलन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्जुनधारा नगर कमिटीले चार हजार दुई सय केजी चामल सोमबार हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारी रुप लिएको नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनको अवधिमा विपन्न र दैनिक ज्याला मजदूरी गर्नेलाई हातमुख जोर्न समस्या पर्दै गएपछि चामल किनेर सहयोग गरिएको नेकपा अर्जुनधारा नगरकमिटी अध्यक्ष पे्रमसागर सापकोटांले बताए ।

त्यसैगरी नगर क्षेत्रमा सञ्चालित विभिन्न १३ वटा सहकारीहरुले संयुक्तरुपमा दुई लाख १८ हजार ४ सय रुपैंया बराबरको चामल प्रदान गरे । उनीहरुको समूहले चार हजार ९६५ केजी चामल पनि हस्तान्तरण गरेको हो । नगरकमिटी र सहकारी संस्थाहरुले सोमबार उप–प्रमुख कमला खतिवडा आचार्यलाई हस्तान्तरण गरेका हुन् ।

नगरमा रहेका श्रद्धा कृषि सहकारीले ३० हजार, कालिका बहुउद्देश्यीय सहकारीले १८ हजार, साना किसान सहकारी, हाम्रो सामाजिक महिला सहकारी, रिद्दीसिद्दी महिला कृषि सहकारी, जलेश्वर बहुउद्देश्यी सहकारी, साना किसान सहकारी, लालीगुराँस महिला कृषि सहकारी, सहनशील बचत तथा ऋण सहकारीले जनही १०-१० हजार प्रदान गरेका थिए ।

त्यस्तै, प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारीले ३५ हजार, सुखानी कृषि सहकारीले २ हजार २ सय, अभियान नेपाल बहुउद्देश्यीय सहकारीले ४ हजार ४ सय र महिला चेतना बहुउद्देश्यीय सहकारी संस्थाले ५८ हजार ८ सय रुपैयाँ आर्थिक सहयोग गरेको प्रज्वलाकी व्यवस्थापक तुलसा कुँवरले जानकारी दिइन् ।