बिर्तामोड । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले झापाका स्थानीय तहलाई पाँच लाख रुपैयाँ सहयोग गरेका छन् ।
छोरा श्याम सिटौलाको बिहेमा खर्च हुने पैसा नेता सिटौलाले झापाका स्थानीय तहले स्थापना गरेको कोरोना राहत कोषका लागि दिएका हुन् । सिटौलाले लक डाउनका बीच सात जना जन्तीसहित आइतवार छोरा श्यामको बिहे गरेका थिए ।
सिटौलाले आफ्नो निर्वाचन क्षेत्रका पाँच स्थानीय तहलाई सहयोग गरेको बताए । नेता सिटौलाका छोरा श्याम र बुहारी मनिषाले भोज लगायत अतिरिक्त खर्चको रकम सोमबार बिहान स्थानीय तहका प्रमुखलाई हस्तान्तरण गरेका हुन् ।
भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिकालाई एक लाखका दरले, नेता सिटौलाकै गृह वडा भद्रपुर १० र बिर्तामोड १० नम्बर वडालाई ५० हजारका दरले सहयोग गरेको नेता सिटौलाले बताए ।