बिर्तामोड । चिया बगान तथा प्रशोधन कारखानामा स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड पूरा भए नभएको विषयमा अनुगमन जारी छ ।

सरोकारवालाले दैनिक चिया बगान तथा प्रशोधन कारखानाको अनुगमन गरिरहेका छन् । आवश्यक सुरक्षात्मक उपाय अवलम्वन गर्ने शर्तमा चिया बगान तथा प्रशोधन कारखानामा मजदूरलाई काम लगाउने सहमति भएको थियो ।

सहमति पालना भए नभएको विषयमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको नेतृत्वमा निरन्तर अनुगमन भइरहेको अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नम्वर १ का इन्चार्ज भूपाल सापकोटाले बताए ।

‘अहिलेका लागि मजदूरको सुरक्षा प्राथमिकताको विषय भएकाले सबै स्वास्थ्य मापदण्डका आधारमा बगान तथा प्रशोधन कारखाना सञ्चालन हुनु पर्छ’, सापकोटाले भने, ‘निरन्तर अनुगमनमा छौँ । कतिपय ठाउँमा कमजोरी देखिए । अनुगमनपछि ती पनि क्रमशः सच्चिएका छन् ।’

आवश्यक स्वास्थ्य सामग्रीको प्रयोग गर्दै निश्चित दुरी कायम गरेर मात्रै चिया बगान र प्रशोधन कारखानामा काम गर्न गराउन स्थानीय प्रशासनले दिएको निर्देशन अनुसार चिया बगान र प्रशोधन कारखाना सञ्चालन भइरहेको संयोजक सापकोटाले बताए ।

अनुगमन समितिले मास्कको प्रयोग भए नभएको, निश्चित दुरी कायम गरिएको नगरिएको, स्यानेटाइजर र सावुनको प्रयोग भए नभएको लगायतका विषयमा अनुगमन गर्दे आएको छ ।

४ बैशाखमा झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा बसेको बैठकले बगान तथा प्रशोधन कारखाना सञ्चालनका क्रममा तोकिएको स्वास्थ्य सम्वन्धी मापदण्ड पूरा भए नभएको विषयमा अनुगमन गर्न नेपाल चिया तथा कफी विकास बोर्डको संयोजकत्वमा अनुगमन समिति पनि गठन गरेको थियो ।

समितिमा चिया उत्पादक सङ्घ, झापा उद्योग सङ्घ र ट्रेड युनियनका प्रतिनिधि सदस्य छन् । अहिलेसम्म समितिले झापाका ४० वटा चिया बगान तथा प्रशोधन कारखानाको अनुगमन गरिसकेको सापकोटाले जानकारी दिए ।