काठमाडौं । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवातको प्रभावले नेपालका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार ‘निसर्ग’ चक्रवातसहित पश्चिमी र स्थानीय वायुको प्रभावले प्रदेश १, २ र बागमती बाहेकका क्षेत्रमा वर्षा भइरहेको छ ।

दिउँसोसम्म गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेकका क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टामा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ । महाशाखाका अनुसार चक्रवातको प्रभाव कायमै रहने भएकाले शनिवारसम्म मौसममा उल्लेख्य सुधार आउने छैन ।