विराटनगर । सरकारले चैत ११ गतेदेखि लकडाउन सुरु गरेसँगै बन्द भएका विराटनगरका पसल बिहीबार बिहानदेखि सञ्चालनमा आएका छन् । लकडाउनको अवज्ञा हुने स्थिति आएपछि बाध्य भएर बजार खोल्नु परेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए ।

महानगरस्तरीय सीसीएमसी, महानगरपालिका, उद्योग संगठन, मोरङ व्यापार संघ र विराट व्यापार संघबीच दिउँसो १२ बजेसम्म बजार र दुई बजेसम्म बैंक खोल्ने सहमति भएको हो ।

शिक्षण संस्था, ब्युटी पार्लर, सिनेमा हल, होटल, पार्टी प्यालेस, शैलुन बाहेकका सबै पसल बिहीबारदेखि मध्यान्ह १२ बजेसम्म सामाजिक दूरी कायम गरी र स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर खुला भएको अध्यक्ष घिमिरेले बताए ।

बुधबार जिल्ला प्रशासन कार्यालय मोरङमा कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीको बैठकमा केन्द्रीय कमिटीको निर्णय नआएसम्म औपचारिक निर्णय गर्न नसकिने प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताएका थिए ।

तर स्थानीय जनप्रतिनिधि र सरोकारवाला संघ संस्थाका प्रतिनिधिले लकडाउन नखोले आम जनताको दैनिकी नै प्रभावित भइसकेको र बजार खुला नगरे समस्या झनै विकराल हुने बताउदै खोल्नुपर्ने अडान राखेपछि अनौपचारिक रुपमा खोल्ने सहमति बनेको थियो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुललीले स्वास्थ्य सतर्कता अपनाएर खोल्ने सहमति भएको र त्यसको अनुगमन जिल्ला प्रहरी कार्यालय र महानगरले गर्ने सहमति बनेको बताएका थिए ।

विराट व्यापार संघका अध्यक्ष सुजन थापाले विराटनगर बजार बिहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म खुलेको तर बजारमा चहलपहल भने न्यून रहेको बताए । बजार खुले पनि पहिलेको जस्तो चहलपहल हुने अवस्था नभएको थापाको भनाइ छ । ‘कोरोनाको डर ग्राहकलाई पनि छ । त्यसैले भीडभाडमा जान हुन्न दूरी कायम राख्नुपर्छ भन्ने जानेर नै बजारमा ग्राहकको भीड कम भएको छ,’ थापाले भने । कान्तिपुरबाट