झापा । सरकारद्वारा घोषित लक डाउनका बीच व्यापार व्यवसाय नियमित गर्ने पूर्ववत् घोषणाबाट झापाका उद्योगी व्यवसायी पछिहटेका छन् । स्थानीय प्रशासनले आफूखुशी बजार नखोल्न निर्देशन दिएपछि बजार तथा पसल खोल्ने उद्योगी व्यवसायीको निर्णय तत्काल स्थगित भएको हो ।

लक डाउन जारी रहँदा रहँदै पनि झापाका उद्योग वाणिज्य संघले सरकारी निर्णयलाई चुनौति दिँदै जेठ २४ गतेदेखि आफू सुरक्षित रहेर बजार तथा पसल सञ्चालन गर्ने निर्णय गरेका थिए । जेठ २३ सम्म बजार तथा पसल सञ्चालनको वातावरण नमिलाए २४ देखि व्यापार व्यवसाय सुचालु गर्ने संघहरुको धारणा थियो ।

तर, जेठ ३२ सम्म लक डाउन तोकिएकाले त्यस अगाडि बजार खुले मान्य नहुने स्थानीय प्रशासनको अडानपछि जिल्लाका व्यवसायी आफ्नो पूर्ववत् निर्णयबाट पछाडि हटेका हुन् । अहिलेको जटिल अवस्थामा सरकारसँग मिलेर जानुपर्ने भएकाले यसअिद्ध निर्णय भए पनि बजार तथा पसल नखोलिएको सरोकारवाला बताउँछन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई सरकारसँग समन्वय गरेर मात्रै व्यापार व्यवसाय सञ्चालनको वातावरण बन्ने बताउँछन् । ‘बजार तथा पसल खोल्न पाउनु पर्छ भन्ने हाम्रो माग हो’, अध्यक्ष भट्टराईले भने, ‘तर सरकारी निकायसँग समन्वय गरेर मात्रै अगाडि बढ्छौँ ।’ उनले विस्तारै बजार खुल्ने प्रतिक्रिया दिए ।

लक डाउन लम्बिएपछि मेची उद्योग वाणिज्य संघको अग्रसरतामा भएको जिल्लाभरका उद्योग वाणिज्य संघको बैठकले आजदेखि बजार खोल्ने निर्णय गरेको थियो । सरकारी घोषणालाई चुनौति दिँदै व्यवसायीले निर्णय गरेपछि स्थानीय प्रशासन रुष्ट भएको थियो । सरकारी अधिकारी पनि अन्यौलमा थिए ।

‘झापाका व्यवसायीले बजार खोल्छौँ भन्दै अल्टिमेटम जस्तै दिनुभयो । २३ गतेसम्म वातावरण नमिले २४ गतेदेखि खोल्ने उहाँहरुको निर्णय थियो’, एक जना सरकारी अधिकारीले भने, ‘सरकार एकातिर जेठ ३२ गतेसम्म लक डाउन भनिरहेको छ । अर्कोतिर व्यवसायी बजार खोल्छौँ भन्नु हुन्छ । हामीले किन मान्ने रु’

जिल्ला प्रशासन कार्यालय झापाले तत्काल बजार खोल्न नमिल्ने जनाएपछि व्यवसायी टकराव गरेर जान नहुने पक्षमा उभिएका हुन् । कतिपय व्यवसायी भने सरकारी आदेश अवज्ञा गर्ने तहमा पनि थिए । तर, कम्तीमा जेठ ३२ सम्म कुर्नु पर्ने प्रशासनको निर्देशनपछि अहिलेका लागि बजार खोल्ने निर्णय स्थगित भएको हो ।