सुनसरी । लकडाउनअघि दैनिकजसो पर्यटकको भिड लाग्ने पूर्वको पर्यटकीय स्थल भेडेटार लामो समय सुनसान हुँदा स्थानीय व्यवसायी निराश छन् । सरकारले पछिल्लो समय लकडाउन खुकुलो बनाए पनि होटल–रेस्टुराँ चल्न नदिँदा उनीहरूको चिन्ता झन् बढेको छ ।

आफूहरूका लागि लकडाउनको असर कोरोनाभन्दा घातक हुन थालेको होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । पर्यटन वर्ष २०२० लाई लक्षित गरी स्थानीय व्यवसायीले लगानी गरेको अर्बौं रुपैयाँ खेर गएको उनको भनाइ छ ।

‘पर्यटकीय स्थलहरूमा सरकारले केही मापदण्ड बनाएर होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न दिनुपर्थ्यो, त्यसो नगर्दा बैंकबाट लाखौं रुपैयाँ ऋण लिएर व्यवसाय सञ्चालन गरेकाहरू निराश भएका छन्,’ उनले भने । पर्यटकीय स्थल भेडेटार धनकुटा र सुनसरीको सीमामा पर्छ ।

सरकारले अब पनि निजी लगानीका होटल तथा पर्यटन व्यवसायमा रोक लगाइरहे आफैं चलाउने तयारी गरिएको रुम्दालीले बताए । चैत ११ देखिको लकडाउनले भेडेटारका ६० वटा पर्यटक लक्षित होटल बन्द छन् । ‘आसपासका पर्यटकीय स्थलसमेत सुनसान भएपछि स्थानीय व्यवसायीको आय त गुम्यो नै, लगानी पनि डुब्ने अवस्थामा पुगेको छ,’ उनले भने ।

सरकारले असारदेखि लकडाउन खुकुलो बनाए पनि पर्यटनलक्षित व्यवसायलाई सम्बोधन नगरेकाले साँघुरीगढी गाउँपालिकासँग वार्ता गरेर होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्ने तयारी रहेको होटल व्यवसायी महासंघ प्रदेश १ का महासचिव लीलाराज लावतीले बताए ।
‘जेठ ३२ सम्म पर्ख्यौं तर हामीजस्ता निजी लगानीमा सञ्चालिन होटल र पर्यटन व्यवसायीका लागि कुनै विकल्प दिइएन,’ होटल एसोसिएसन भेडेटारका निवर्तमान अध्यक्षसमेत रहेका लावतीले भने, ‘मर्नुभन्दा बहुलाउनु निको भनेजस्तै अब आफैं सञ्चालन गर्ने तयारीमा जुटेका छौं ।’

भेडेटारमा लकडाउन हुनुभन्दा तीन साताअघि मात्र करिब ३ करोड रुपैयाँको लगानीमा जिप फ्ल्याइङ सुरु भएको थियो । होटल व्यवसायी धमाधम थपिँदै थिए । ‘कि राहत प्याकेज दिनुपर्‍यो कि मापदण्ड तोकेर होटल र पर्यटन व्यवसाय सञ्चालन गर्नु दिनुपर्‍यो,’ लावतीले भने, ‘लकडाउन मात्र गरेर सरकारले आफ्नो दायित्व पूरा गरेको ठहरिन्न ।’

भेडेटारमा आर्थिक कारोबार चलायमान् बनाउन अहिले दिनहुँजसो होटल व्यवसायी छलफलमा जुट्न थालेका छन् । उनीहरू कोरोनामा सुरक्षित भएर व्यवसायलाई निरन्तरता दिने उपायको खोजी गर्दै छन् ।

छलफलमा होटलका कर्मचारीको समय–समयमा स्वास्थ्य परीक्षण गराउने, अनिवार्य मास्क, पन्जा, टोपी लगाएर सेवा दिने, होटल प्रवेशद्वारमा साबुनपानीले हातधुने वा सेनिटाइजर प्रयोगको व्यवस्था गर्ने, एकभन्दा बढी ग्राहक आए सामाजिक दुरी कायम गराएर सेवा दिने, कोठा सर्भिस दिँदा फरक–फरक दिनमा दिने, पाहुनाले कोठा छोडेपछि पूरा सेनिटाइज गरेर मात्र पुनः प्रयोग गर्नेजस्ता प्रस्ताव गरिएका छन् । यिनै विषयमा स्थानीय सरकारसँग आन्तरिक छलफल र वार्ता भइरहेको अध्यक्ष रुम्दालीले बताए । कान्तिपुरबाट