बिर्तामोड । जनस्तरबाट झापामा स्थापना गर्न लागिएको पीसीआर परीक्षण प्रयोगशालाका लागि समाजसेवी लोकवन्धु कन्दङ्वा र व्यवसायी मोहन अधिकारीले आर्थिक सहयोग गरेका छन् ।

पूर्व जनप्रतिनिधि समेत रहेका कन्दङ्वाले ५१ हजार एक सय २५ रुपैयाँ र विर्तामोडका व्यवसायी मोहन अधिकारीले बिहीबार २१ हजार एक सय ५० रुपैयाँ सहयोग गरेका हुन् ।

‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरी, सह संयोजक विनोद वस्नेत, अभियानका सदस्यहरु विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र निर्माण व्यवसायी केदार गिरीलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको छ ।

तत्कालीन अनारमनी गाविसका उपाध्यक्ष समेत रहेका कन्दङ्वाले नागरिकस्तरवाट झापामा पीसीआर प्रयोगशाला स्थापना गर्ने कार्य प्रशंसनीय भएकाले उक्त कार्यमा आफूले सहयोग गरेको वताए ।

पाँचथर–झापा सरोकार समितिका उपाध्यक्ष समेत रहेका अधिकारीले प्रयोगशालाको स्थापना झापावासीको गौरव भएकाले उक्त कार्यमा आफूले सहयोग गरेको वताए ।

सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानमार्फत झापाको कनकाईमा पीसीआर प्रयोगशाला स्थापनाको तयारी भइरहेको छ ।

प्रयोगशाला कनकाई नगरपालिकाको कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा राखिने ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले भवनको अवलोकन गर्दै पीसीआर प्रयोगशाला राख्न अनुमति दिएका छन् । अभियानका सह–संयोजक विनोद वस्नेतले एकका लागि एक अभियानको अगुवाईमा हालसम्म एक करोड २५ लाख रुपैयाँ संकलन भएको जानकारी दिए ।