काठमाडौँ । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई थप १६ दिनसम्म रोक लगाउने निर्णय गरेको छ ।

असार २१ गतेसम्म रोक लगाइएको आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई सोमबारको मन्त्रीपरिषद्‌ बैठकले साउन ६ गते मध्यरातसम्मलाई रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

उडान रोक्न सरकारले चैत ९ गतेयता गरेको यो आठौं निर्णय हो । नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात महाशाखाका प्रमुख सचितभक्त पोखरेलले मंगलबार सरकारले गरेको निर्णयपछि बुधबार अत्यन्त जरुरी सूचना जारी गर्दै ‘सबै आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई यात्रु उडानमा साउन ६ गते राति ११:५९ सम्मका लागि रोक लगाइएको’ जनाएका छन् ।

यसअघि पहिलोपटक ०७६ चैत ९ गतेदेखि सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडानलाई र आन्तरिक वायुसेवालाई चैत ११ देखि १८ गतेसम्म व्यावसायिक यात्रु उडानमा रोक लगाइएको थियो ।

त्यसपछि चैत १९ देखि वैशाख ३ सम्म, वैशाख ४ देखि १८ सम्म, वैशाख १९ देखि जेठ २ सम्म, जेठ ३ देखि १८ सम्म, १९ देखि जेठ ३२ र असार १ देखि २१ सम्म व्यावसायिक उडानमा रोक लगाइएको थियो । आठौं पटकको निर्णयले १६ दिन थप गरेको छ ।

यी निर्णय मन्त्रीपरिषद् तथा सीसीएमसीले संयुक्त रुपमा गर्दै आएका छन् । व्यावसायिक उडानमा रोक लगाइए पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्धार गर्न र गराउन चार्टर उडान अनुमति भने दिँदै आएको छ ।

मन्त्रालयको नागरिक उड्डयन महाशाखाले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न असार ३१ सम्म अनुमति जारी गरेको छ । यो तेस्रोपटक जारी भएको अनुमति हो । पहिलोपटक २९ जेठदेखि खुला गरिएको नेपाली नागरिक उद्धार चार्टर उडानको म्याद असार ११ सम्म थियो ।

त्यसपछि मन्त्रालयले दोस्रोपटक असार १६ गतेसम्मका लागि उडान तालिका र भाडादर निकालेको थियो । बुधबारदेखि लागू भएको तेस्रोपटकको चार्टर उडान तालिका ३१ असारसम्म कायम रहने छ ।