काठमाडौं । मनसुनी वायुको प्रभावसँगै अहिले विभिन्न ४ वटा प्रदेशमा वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, गण्डकी, प्रदेश ५, प्रदेश २ को धनुषा, सिरहा तथा प्रदेश १ को विराटनगर आसपासको क्षेत्रमा बदली भइ हल्का वर्षा भइरहेको छ ।

मुलुकका विभिन्न भूभागमा सामान्यदेखि पूर्ण बदली रही आज दिउँसो कर्णालीबाहेकका सबैजसो भूभागका केही स्थानहरूमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

भारी वर्षासँगै ती क्षेत्रमा बाढी–पहिरोको जोखिम रहेको तथा बिभिन्न क्षेत्रका नदीहरूमा पानीको बहाव बढ्ने, भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल एवं पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार दिपायलमा ३३.६ मिलिलिटर वर्षा भएको छ । यस्तै डडेल्धुरामा २९.५, धनगढीमा २५.५, वीरेन्द्रनगरमा १८.२, नेपालगञ्जमा २५.२, जुम्लामा ९.४, घोराहीमा ५.५, पोखरामा २.९, भैरहवामा २.६, काठमाडौँमा २.४, जोमसोममा १८.५, धरानमा ३.१, लुम्लेमा ८३.३ र जिरीमा २७ मिलिलिटर वर्षा भएको छ ।

नेपाल बाढी पूर्वानुमान महाशाखाले भने कञ्चनपुरमा भारी वर्षापछि भीमदत्त नगरपालिकास्थित चौधर नदी लगायत कञ्चनपुर भई बहने ससाना नदीमा बाढी आउन सक्ने भएकाले विहान १० बजेसम्म सतर्कता अपनाउन आह्वान गरेको छ ।