बिर्तामोड । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना र सञ्चालन हुने निश्चित भएपछि दाताहरु रकम हस्तान्तरण गर्न उत्साही देखिएका छन् ।

बुधबार मात्र दाताहरुले एउटै कार्यक्रममा १९ लाख रुपैयाँभन्दा बढी सहयोग रकम ल्याब स्थापनाका लागि प्रदान गरेका छन् । एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई उनीहरुले नगद हस्तान्तरण गरेका थिए । दाताहरुले स्वतस्फूर्त रकम सहयोग गर्ने क्रम जारी रहेको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघको अतिथि सदनमा आयोजित कार्यक्रममा १९ लाख १४ हजार ७९५ रुपैयाँ प्राप्त भएको छ । बुधबार २४ वटा संस्था र ३२ जनाले व्यक्तिगत रुपमा सहयोग हस्तान्तरण गरेको अभियानका सचिवालय प्रमुख गोपाल भट्टराईले जानकारी दिए ।

संस्थागत रुपमा सात लाख ८९ हजार ७५८ र व्यक्तिगत रुपमा ११ लाख २५ हजार ३७ रुपैयाँ सहयोग प्राप्त भएको छ ।