झापा । अर्जुनधारा नगरपालिकाले विषयगत बजेट बाँडफाँड सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७७–०७८ का लागि आर्थिक विकासका क्षेत्रमा तीन करोड ६८ लाख रुपैयाँ खर्च गरिने गरी बजेट व्यवस्था गरिएको छ ।

उपमेयर कमला खतिवडाले नगरसभाको बैठकमा पेस गरेको नगरपालिकाको विषयगत बजेट बाँडफाँडमा कृषि विकासमा ९८ लाख ५० हजार रुपैयाँ, पशुपक्षी विकासमा एक करोड ४० लाख रुपैयाँ, पर्यटन विकासमा ३० लाख र सहकारी उद्योग तथा वाणिज्यमा एक करोड रुपैयाँ खर्च गर्ने प्रस्ताव गर्नु भएको हो ।

‘सामाजिक विकासमा तीन करोड ७० लाख रुपैयाँ छुट्याएका छौं’, उपमेयर खतिवडाले भन्नुभयो, ‘स्वास्थ्यमा ९० लाख, आयुर्वेद स्वास्थ्यमा ३५ लाख, शिक्षामा एक करोड ६ लाख, खानेपानी तथा सरसफाइमा ५ लाख, भाषा कला संस्कृति प्रवर्दनमा ६ लाख, सामाजिक समावेशीकरणमा ६५ लाख रुपैयाँ छुट्याएका छौं ।’

पूर्वाधार विकासमा अर्जुनधारा नगरपालिकाले ९ करोड ९९ लाख रुपैयाँ छुट्याएको छ । सुशासन तथा संस्थागत विकासमा ४५ लाख रुपैयाँ छुट्याइएको छ । अर्जुनधारा नगरले जलउत्पन्न प्रकोप नियन्त्रका लागि ८० लाख रुपैयाँ बजेटको व्यवस्था गरेको छ ।

‘हामी सबै क्षेत्रको समानुपातिक विकासबाट नगरको समृद्धिको चित्र कोर्छौं’, मेयर हरिकुमार रानाले भन्नुभयो, ‘कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र भौतिक पूर्वाधार अर्जुनधारका प्राथमिकता हुन्, हिजोको प्रतिबद्धताअनुसार विकासका काम अगाडि बढाउँछौं ।’