दमक । पूर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित हिमालय–महालक्ष्मी चियाबगानमा कार्यरत ७ सयभन्दा बढी श्रमिक डेढ महिनादेखि ज्याला र खाईपाई आएको सुविधाबाट वञ्चित छन् । एक सातायता आन्दोलनमा रहेका उनीहरूले बिहीबार भद्रपुरस्थित श्रम कार्यालयमा एक घण्टा धर्ना दिए ।

श्रमिकहरूले सेवासुविधा कटौती रोक्न र तत्काल पाउने व्यवस्था मिलाइदिन माग गर्दै कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् । श्रमिक नेता दीपक फुयाँलले बगानमा ३ सय १८ स्थायी र त्यति नै संख्यामा अस्थायी श्रमिक रहेको जनाए । ‘पटकपटक आग्रह गर्दा पनि बगान प्रशासनले चासो नदिएका कारण श्रम कार्यालयलाई अनुरोध गरेका हौं,’ उनले भने ।

कार्यालयप्रमुख दुर्गा आचार्यले श्रमिकहरूले तलब नपाएको भन्दै ज्ञापनपत्र आएकाले यथाशक्य चाँडो बगान प्रशासनलाई चिठी काटेर छलफल गरिने जनाए । ‘दुवै पक्षलाई राखेर छलफल गरी समस्या समाधानका लागि प्रयत्न गर्नेछौं,’ उनले भने ।

लकडाउनमा समेत बगानमा खटिएका श्रमिकहरू सेवासुविधावाट वञ्चित भएपछि कामै छाडेर आन्दोलनमा उत्रिएका हुन् । ‘ज्याला नै नपाएपछि हामी के खाएर काममा जाने ?’, अर्का श्रमिक नेता छत्रबहादुर विकले भने, ‘तत्काल ज्यालालगायत सुविधा उपलव्ध हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

गत मंगलबार उनीहरूले बगान प्रशासन कार्यालय घेराउ गरेका थिए । बगानमा कार्यरत कमला राईका अनुसार एक महिनाभन्दा धेरै समयसम्म काम गर्दा प्रशासनले १२ दिनको मात्रै ज्याला थमाउने गरेको छ । भनिन्, ‘आधा पैसाले के खाने रु कसरी परिवार पाल्ने रु’ उनका अनुसार बगानका क्वार्टरमा खानेपानी, बिजुलीलगायत कटौती गरिएको छ ।

‘सुत्केरी र बिरामी बिदासम्म दिएको छैन’, उनी भन्छिन्, ‘सेवा–सुविधा सबै काटिएको छ, चिया टिप्ने बोरा, त्रिपाल, गम्बुट पनि आफैं किनेर प्रयोग गर्नुपर्ने अवस्था छ ।’

श्रमिक नेता फुयाँलका अनुसार बगानले उनीहरूको सञ्चय कोषबापतको करिब १ करोडभन्दा बढी रकम ७ वर्षदेखि जम्मा गरेको छैन । सञ्चयकोषमा श्रमिकको ज्यालाबाट १० प्रतिशत रकम कटौती हुँदै आएको छ । ‘सञ्चयकोषको रकमको हिसाबकिताब पनि हामीले खोजिरहेका छौं’, उनले भने ।

बगानबाट सेवानिवृत्त भएकाहरूको उपदानबापतको पाँच लाख ३६ हजारभन्दा बढी रकमसमेत उपलब्ध हुनुपर्ने श्रमिकहरूको माग छ । बगान उपप्रबन्धक खगेन्द्र श्रेष्ठले ज्यालालगायत सेवासुविधा माथिको आदेशबाटै कटौती भएकाले बगान प्रशासनले यसमा केही गर्न नसक्ने बताए । कान्तिपुरबाट