काठमाडौं । आइतबारदेखिको अविरल वर्षा नरोकिदा मुलुकभरको जनजीवन प्रभावित भएको छ । बाढीपहिरो र डुबान भएका क्षेत्रमा जनजीवन तहसनहस नै भएको छ । मुलुकभर सोमबार भएका बाढीपहिरो र डुबानका घटनामा मात्रै ७ जनाको मृत्यु भएको छ ।

काठमाडौँ, दार्चुला, धादिङ, तनहुँ र गोर्खामा मात्रै ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तीन दर्जनभन्दा बढी परिवार विस्थापित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

ठाउँठाउँमा पहिरो खस्दा मुलुकका विभिन्न जिल्लामा सडक यातायात ठप्प भएका छन् । साना ठूला गरी दर्जनौँ स्थानमा खसेको पहिरो पन्साउन नसक्दा काठमाडौँ उपत्यकासँग जोडिने मुख्य सडक पृथ्वी राजमार्ग सोमबारदेखि अवरूद्ध भएको छ ।

मौसम अनुकुल भए पृथ्वी राजमार्गको धादिङ खण्डको सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागले नेपालमा विहीबारसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षा जारी रहने भएको हो । विभागका अनुसार प्रदेश(१, प्रदेश(२, बागमती, गण्डकी, प्रदेश(५ र सुदूरपश्चिम प्रदेशमा अहिले पनि वर्षा भइरहेको छ । अब ९ साउनपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जानेछ ।

कहाँ कहाँ छ खतरा ?
विभागले सातवटै प्रदेशका केही स्थानहरूमा भारी वर्षाका कारण त्यहाँ रहेका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने र पहिरो जानसक्ने, डुबान हुनसक्ने अनि सडक तथा हवाई यातयात प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाउन आह्वान गरेको छ ।

शुक्रबारसम्म कन्काई, कोशी, कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र तीनका सहायक नदी सहित चुरे र कतिपय तराई भएर बग्ने नदीमा उल्लेख्य रूपमा बहाव बढ्ने बताइएको छ ।

कतिपय नदीको तह सतर्कता आसपास पुग्नसक्ने मध्यम सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरिएको छ ।

नारायणी तहमा बहावको तह उल्लेख्य बढ्ने र सतर्कता तह पार गरी खतरा आसपाससम्म पुग्नसक्ने चेतावनी गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणले दिएको छ ।

त्यसबाहेक कन्काई, कमला, बागमती, तिनाउ र पश्चिम राप्तीका केही सहायक नदीमा आकस्मिक रूपमा बहाव बढेर बाढी आउनसक्ने चेतावनी दिइएको छ ।

लगातारको वर्षाका कारण भोटेकोशी नदीमा अझै पनि बाढीको खतरा रहेकाले नदी किनाराका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अनुरोध गरेको छ ।

चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो पोखरी फुट्न सक्ने खतरा बढेको भन्दै प्रशासनले भोटेकोशीमा बाढीको जोखिम बढेको जनाएको हो । सोमबार नै सूचना जारी गरिए पनि अझै वर्षा भएकाले अवस्था अझै पनि खतरामुक्त नरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।

यस्तो छ तीन दिनको पुर्वानुमान
जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिनको पूर्वानुमान गर्दै आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा बिहीबारसम्म नै भारी वर्षा हुने जनाइएको छ ।

साउन ६ गते
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ७ गते
दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ८ गते
दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश तथा प्रदेश ५ को थोरै स्थानहरुमा र बागमती प्रदेशको एक वा दुई भारी वर्षाको समेत सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, सुदुरपश्चिम प्रदेश को थोरै स्थानहरुमा साथै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।