झापा । अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्षको लागि नदीजन्य सामग्री उत्खनन्, संकलन र निकासीका लागि एक सातापछि ठेक्का लगाइने भएको छ ।

नगरपालिकाले यस वर्षको लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) गरेर नदीजन्य सामग्री उत्खनन्, संकलन र निकासीका लागि नगरको बोर्ड बैठकबाट निर्णय गरेर ठेक्का प्रक्रिया अगाडि बढाउने भएको हो ।

गत आर्थिक वर्ष नगर क्षेत्रका खोलामा ठेक्का नलाग्दा नगरको करोडौं रुपैयाँ राजश्व गुमेको थियो । आन्तरिक आम्दानी गुमेपछि नगरको विकासका योजना प्रभावित बनेसँगै नगरले यसवबर्ष समयमै ठेक्का प्रक्रियाको काम अगाडि बढाएको नगर प्रमुख हरिकुमार रानाले बताए ।

नगर क्षेत्र भएर बग्ने बिरिङ, टाङटिङ, नेते र गोयाङ खोलामा उत्पादित सामग्रीको उपयोग गरेर राजश्व संकलन गर्ने योजनामा नगरपालिका रहेको छ । नगरपालिकाले आइइइ प्रतिवेदन तयार गरी सरोकारावाला समुदाय, राजनीतिक दलका प्रतिनिधिसँगको छलफलपछि नगरपालिका ठेक्का लगाउने प्रक्रियामा जुटेको हो ।

नगरले बिरिङ खोलाको ७, टाङटिङ खोलाको ५ र ठुलोनेते खोलामा ५ स्थानमा उत्खनन् गर्न पाइने जनाएको छ । बिरिङ खोलाबाट ९३ हजार र टाङटिङ खोलाबाट ७९ हजार ५० र ठूलो नेतेबाट १४ हजार घनमिटर नदीजन्य सामग्री संकलन गर्न उपयुक्त रहेको आइइइ प्रतिवदेनमा उल्लेख छ । जसका लागि नगरले ३ करोड ३५ लाख ८४ हजार न्यूनतम अंक निकालेको छ ।

आज शनिश्चरेमा आयोजित छलफल कार्यक्रममा प्रतिनिधि सभा सदस्य पवित्रा निरौलाले खोलालाई व्यवस्थित गर्न सके दुःखमात्र नभएर सुख पनि दिने गरेको सुनाइन् । उनले नगरको मात्र नभएर सर्वत्र विकास निर्माणमा उपयोग हुने नदीजन्य सामग्री उत्खनन् गर्न सके योजनाहरु पनि समयमै सम्पन्न हुने बताइन् ।

उनले विपद्का बेला सबै राजनीतिक दलहरु एकजुट हुने गरेको उदाहरण प्रस्तुत गर्दै अर्जुनधाराको नदीजन्य सामग्री उत्खनन्, निकासी र संकलनमा पनि लागिपर्नु पर्नेमा जोड दिइन् ।

नगरपालिकाले असोज १ गतेदेखि उत्खनन् गर्न अनुमति दिने उद्देश्यले ठेक्का प्रक्रिया सुरु गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले जानकारी दिए । नगरकी उपप्रमुख कमला खतिवडाले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन बरिष्ठ याेजना अधिकृत हिमराज सेडाइँले गरेका थिए ।