विराटनगर । भारतसँग सीमा जोडिएको विराटनगरस्थित दरैयाबस्ती हुँदै भारततर्फ लैजान लागेको सुनसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ का ५६ वर्षीय श्यामलसेन गुप्ता रहेका छन् । सशस्त्र प्रहरी बलको बिओपी बखरीको टोलीले दुई सय ६७ ग्राम सुनको चक्कीसहित गुप्तालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी मोरङका प्रमुख एसपी तीर्थ पौडेलले लकडाउनको समयमा भारततर्फ जान लागेको पाइएपछि शंका लागेर चेकजाँच गर्दा अवैध सुन बरामद भएको बताए ।

सुन २३ लाख मूल्य बराबरको रहेको छ । शनिबार पक्राउ परेका गुप्ताको साथबाट पाँच हजार नेपाली रुपैयाँ, साइकल र मोबाइल पनि बरामद भएको एसपी पौडेलले बताए ।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको बताउँदै उनले आवश्यक कारबाहीका लागि आज आइतबार विराटनगर भन्सार कार्यालयमा बुझाइने जानकारी दिए ।