झापा । धानको सुपरजोनको जिल्ला झापामा अहिले युरिया मलको अभाव भएको छ । विश्व अहिले कोभिड १९ को अत्यन्त विषम परिस्थितिबाट गुज्रिरहेको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारणले गर्दा नेपाल सरकारले कोरोना भाइरस फैलिन नदिन चैत ११ गतेबाट गरेको बन्दाबन्दी १२० दिनपछि श्रावण ७ गतेबाट अन्त्य भए पनि देश पूर्णरूपमा सहज तरिकाले खुल्न नसकेको कारण युरिया मलको अभाव भएको हो ।

कोरोना भाइरसको प्रभावका कारण भारतसँगको नाका बन्द भएका कारण मल सहजरुपमा आयात हुन सकेको छैन । धान रोपाइँ सकिएसँगै झापामा युरियाको माग ह्वातै बढेको पाइन्छ । अहिले लगाएको धानमा तीन चरणमा गरेर युरिया लगाउनुपर्ने हुन्छ ।तर, मल अभाव भएसँगै झापाली कृषक चिन्तित भएका छन् ।

बुद्धशान्ति ३ का एक कृषक धानबारीमा धान गोड्नलाई तयारी गर्दै थिए । उनले भने, रोप्दा जसोतसो मल हालेर रोपे । तर, गोड्ने बेला भो मल पाइएन । गोड्ने बेला नि बितिसक्यो मल नपाएर समस्या भयो ।

उनले मात्र होईन अर्का सोही ठाँउका कृषकको नि गुनासो त्यस्तै थियो । धान पसाउने बेला भइसक्यो तर अहिलेसम्म मल हाल्न पाएको छैन । यसपालि त साहुलाई नि दिन नपुग्ला जस्तो छ । उनले भने, मलको व्यवस्था स्थानीय सरकारले जसरी भएनी गरिदिनु पर्यो । नत्र कृषकका लागि केही राहतको व्यवस्था गरिनु पर्यो ।

यो समस्या बुद्धशान्तिका कृषकको मात्र होईन । झापाको अर्जुनधारा, मेचीनगर तथा अन्य पालिकाका अधिकांश कृषकहरुको साझा समस्या हो । यतिबेला झापामा धानमा हाल्ने मलको अभाव भएको छ । कृषकहरुले मल किन्न नपाउँदा गोड्न लागेको धान खेतमा मल लगाउन नपाएका हुन् ।

आधिकारिक दर्ता भएर विर्तामोडको कृषि सामग्री कम्पनीबाट मल ल्याएर विक्री वितरण गर्द आएको बुद्धशान्तिको न्यु कन्चन कृषि सहकारीमा महिना दिनदेखि यता मल खोज्नेको भिड लाग्ने गरेको छ । तर, बिक्रीका लागि ल्याइने ठाँउमै मल अभाव भएकाले किसानलाई मल दिन नसकिरहेको उक्त सहकारीका अध्यक्ष इश्वरीराज ढकालले बताए । उनले किसानलाई मलको अभाव हुन नदिनको लागि स्थानीय निकायलाई समेत मल व्यवस्थापन गर्न अनुरोध गर्दै गरेको बताएका छन् ।

यतिबेला धान उत्पादनको लागि मल अति आवश्यक भएको र प्रदेश १ मात्रै नभएर देशभरि नै मल अभाव भएको बुद्धशान्ति गाउँपालिका कृषि बिकास शाखा प्रमुख कृष्ण ढुंगेलले बताए । उनले यसबारे सम्बन्धित निकायमा पहल गर्दै गरेको सुनाएका छन् ।

तर, बजारमा रासायनिक मल अभाव भएता पनि झापाका केही पालिकाहरुमा मलको कालोबजारी समेत बढेको छ । समयमा युरिया मल अभाव हुँदा कृषकले सरकारी अड्डा दैनिक धाउँदा पनि मल नपाएपछि दोब्बर मूल्य लगाएर मल किन्न बाध्य भएका छन् । कोरोना भाइरसको प्रभावका कारण भारतसँगको नाका बन्द भए पनि भारतबाट नै आयातित मल किसानले किन्न बाध्य भएका छन् ।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेङिङ कर्पोरेसन झापाले युरिया, डिएपीलगायत रासायनिक मल कृषि सहकारीमार्फत बिक्री गर्दै आएका छन् । तर, पछिल्लो समय देशमै अभाव भएको भन्दै बिर्तामोडमा रहेका यी दुई संस्थानले मल दिन छाडेपछि किसानलाई समस्या परेको छ ।