बिर्तामोड । झापाको बिर्तामोडमा सात लाख मूल्यको माउन्टेन बाइक उपलब्ध हुने भएको छ । स्थानीय युवा व्यवसायीहरुको पहलमा शुक्रबार माउन्टेन बाइकको शोरुम ‘द हिमालयन माउन्ट बाइक’ सञ्चालनमा आएको छ ।

बिर्तामोडको काँकरभिट्टा रोडस्थित सिटी सेन्टरको दोस्रो तलामा शोरुम सञ्चालनमा आएको हो । चार युवाको एक करोड रुपैयाँको संयुक्त लगानीमा शोरुम सञ्चालनमा ल्याइएको शोरुमका सञ्चालक बुद्ध भूषण योञ्जनले जानकारी दिए । शोरुममा योञ्जनसहित योगेन्द्र थापा, राजिव धिमाल र धनराज मगरले लगानी गरेका छन् ।

स्वास्थ्यका लागि साइक्लिङ भन्ने उद्देश्यले शोरुम सञ्चालनमा ल्याइएको सञ्चालक योञ्जन बताउँछन् । आज शोरुम उद्घाटनको अवसरमा ६५ हजार रुपैयाँभन्दा माथिका आठ वटा साइकल बिक्री भएको छ ।

शोरुममा विश्वप्रसिद्ध जाइन्ट कम्पनीको ३३ हजार रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म माउन्टेन बाइक पाइने जनाइएको छ । अमेरिकन कम्पनी जाइन्टको आधिकारिक बिक्रेताको रुपमा रहेको यस शोरुमले स्पेयर्स पार्टस् र सर्भिसिङको समेत सेवा दिने जनाएको छ ।

स्वास्थ्यप्रति सचेत साइकलका पारखीहरुलाई लक्षित गरी सञ्चालनमा ल्याइएको शोरुममा राखिएको २१ वटामध्ये १८ वटा अग्रिम बुक भइसकेको उनले बताए ।

साइकल पारखीको क्रय क्षमतालाई मध्यनजर गर्दै जाइन्टकै हनी हन्टर माउन्टेन बाइक पनि शोरुममा बिक्रीका लागि राखिएको छ ।