झापा । प्रदेश १ सहित मुलुकका विभिन्न स्थानमा मंगलबार (आज) भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज बिहान ४ बजे एसएमएस गर्दै पछिल्लो ६ घण्टामा इलाम, झापा, सुनसरी र मोरङ जिल्लाका अधिकांश क्षेत्रमा भारी वर्षा भएको जानकारी दिएको थियो ।

एसएमएसमा मेची नदी, निन्दा खोला, विरिङ खोला, मावा खोला, नुना खोला, बुढी खोला, कनकाई नदीको तल्लो तटीय क्षेत्रगायत सो क्षेत्र भएर बहने साना खोलामा आकस्मिक बाढी तथा होचा स्थानमा डुबान हुनसक्ने भन्दै बिहान १० बजेसम्म सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

विभागले मंगलबारको मौसम पूर्वानुमान गर्दै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । अहिले प्रदेश १ का केही स्थानमा वर्षा भइरहेको छ ।

मनसुनको न्यून चापीय रेखा पूर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेकाले मौसममा सामान्य बद्ली भई मनसुनी गतिविधि अघिल्ला दिनको भन्दा केही सक्रिय बनेको हो । केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम तथा भारी वर्षको सम्भावना रहेको अनुमान गरिएको छ ।

वर्षा हुने क्षेत्रमा बाढीपहिरो र डुबानको समस्या आउन नसक्नेभन्दै उच्च सावधानी अपनाउन आवश्यक रहेको मौसम विद्हरुले बताएका छन्