नमीन ढकाल,
इलाम । कोरोनाका कारण सरकारले लगाएको लकडाउन पछि अहिल देशभरका बजारहरु पुरानै अवस्थामा फर्कने प्रयास छन् । तर, नेपाल भारत सीमाको पशुपतिनगरका पसलका सटरहरुमा भने अझै ताला झुन्डिएको देख्न सकिन्छ ।

६ महिना अघिसम्म नेपाल–भारत सीमामा पर्ने सूर्योदय नगरपालिकाको पशुपतिनगर बजारमा भारतीय पर्यटकहरुको घुइँचो हुने ग¥थ्यो । पर्यटकहरुको चापले थामिनसक्नु हुने सडक आजकाल खाली देखिन्छ । धेरैजसो पसलका सटरहरु बन्द छन् ।

खुलेका पसलहरुमा पनि ग्राहक नहुँदा सुनसान प्रायः नै देखिन्छ । कोही पसलमा आएको देख्दा पनि व्यपारीको खुशीको सीमा हुन्न । कोरोनाका कारण सीमा नाका ठप्प भएपछि भारतीय पर्यटक नआउँदा करिब ४ दशकभन्दा लामो समयदेखि पसल गर्दै आएका प्रेमनाथ पाण्डेलाई विस्थापनको चिन्ताले सताएको छ ।

‘४० बर्षभन्दा बढि भयो पशुपतिनगरमा पसल थालेको यस्तो कहिले भएको थिएन । नेपाल बन्दमा पनि पसल खुल्ला नै हुन्थ्यो’, उनले भने, ‘दिनभर ग्राहक रुघेर बस्यो कहिले काहिँ त बोनी नै नभई पसल बन्द गर्नुपर्छ । भारतीय पर्यटकले टिकेको बजार हो पशुपतिनगर ।’

पशुपतिनगर बजारमा बाह्रै महिना भारतीय पर्यटकहरुको चाप रहने ग¥थ्यो । अहिले कोरोनाको कहरले ६ महिनादेखि व्यापारीहरुलाई घरभाडा तिर्न नै धो धौ छ । कतिपय व्यपारीहरु व्यवसाय बन्द गरेर घर फर्किसकेका छन् ।

कोरोनाको कहर लम्बिए विस्थापित हुनुको विकल्प नभएको व्यवसायी शेषलाल यादब बताउँछन् । ‘बार्षिकरुपमा २ लाख रुपैयाँभन्दा बढि घर भाँडा तिर्नुपर्छ’, उनले भने, ‘पसल खोले पनि ग्राहक आउँदैनन् यस्तै हो भने पसल बन्द गरेर हिँडनुपर्छ ।’

कतिपय व्यवसायीहरु पुरानै अवस्थामा फर्कने आशमा घरभाडा तिरेर नै बसेका छन् । संकटमा रहेका व्यवसायीहरु सरकारबाट सहयोग हुनुपर्ने माग राख्छन् । ‘पशुपतिनगर मात्र हैन सीमाको सवै बजारका व्यवसायीको अवस्था उस्तै छ । सीमा खोल्ने केही कुरा छैन । न सरकारले हेर्छ न व्यपार व्यवसाय हुन्छ’, महालक्ष्मी स्टोरका संचालक सुधिर भन्छन् ।

लकडाउनका कारण घर गएको व्यवसायीहरु फर्कन नसक्दा पसलमा रहेका सामग्रीहरुमा ढुसी पलाउने चिन्ता बढ्दै जान थालेको छ । केही बर्ष अघिसम्म भारतीय व्यापारीहरुको लागि फेन्सी सामग्री एवम फरेन गुड्स खरिदको नजिकको बजार पशुपतिनगर नै थियो ।

चीनबाट आउने धेरैजसो लत्ताकपडा, फेन्सी सामग्री, जुत्ता लगायतक सामग्रीहरु खरिद गर्न भारतको दार्जिलिङ, सिक्किम, कालेम्पोङ, सिलगुडी लगायतका स्थानबाट व्यापारीहरु आउने गरेका थिए । तर, अहिले भारतीय बजारमा सोझै यस्ता सामग्रीहरु पाउने थालेपछि पशुपतिनगर बजार सुक्दै गएको हो ।

अर्कोतर्फ कोरोनाले झन झन आक्रान्त बनाएको अवस्थामा व्यापारी पलायन रोक्न नै चुनौती रहेको सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राई बताउँछन् ।

सरकारले लगाएको करिब १२० दिनको लकडाउनपछि अहिले देशभरका बजारहरु फाट्फुट्ट खुले पनि पशुपतिनगर बजारमा भने धेरैजसो सटरहरुमा अझै पनि ताला नै लागेको छ । कोरानाको कहरपछि लगाइएको लकडाउन खुलेको झन्डै २ महिना विते पनि धेरैजसो व्यवसायीहरु पशुपतिनगर बजारमा फर्कन सकेका छैनन् ।

स्थानीय सरकारले पसल खोल्नका लागि अवरोध नगरे पनि व्यापार व्यवसाय चौपट भएका कारण सीमाको बजार पशुपतिनगर अहिले संकटमा परेको वडा नं २ का अध्यक्ष चन्द्रकुमार सुब्बा गुनासो गर्छन् ।

‘हामीले त व्यापारीहरुलाई पसल खोल्नु भनेकै छौ । व्यापार व्यवसाय नै नहुने भएपछि धेरैले खोल्न सकेका छैनन्’, सुब्बाले भने, ‘पशुपतिनगरको व्यापार नै भारतीय पर्यटकहरुबाट चलेको छ । उनीहरु नै नआएपछि बजारको सुनसान नै बनेको हो ।’

पर्यटनको सिजन सुरु हुने बेला भए पनि कोरोनाको कहर नसकिँदा पशुपतिनगर शुन्य प्रायः नै छ । भारतको कोलकत्ता, सिक्किम, चेन्नाई, मद्रास, मुम्वई लगायतका क्षेत्रबाट बर्षेनी हजारौको संख्यामा पर्यटकहरु पशुपतिनगर आउने गरेका थिए । उनीहरुबाट नै यस क्षेत्रको व्यपार संचालन हुने गरेको थियो ।