ताप्लेजुङ । पर्यटनमन्त्री योगेशकुमार भट्टराईको सहयोगमा न्यून आयस्रोत भएका, असहाय, विद्यार्थी तथा निम्न वर्गका ताप्लेजुङबाट काठमाडौंमा बसोबास गर्ने नागरिकको ५० हजार बराबरको कोरोना बीमा गरिने भएको छ।

ताप्लेजुङबाट पेशा व्यवसायको सिलसिलामा उपत्यका पुगेकाहरु संगठित हुने दुई संस्था क्रमशःताप्लेजुङ सरोकार केन्द्र र ताप्लेजुङ समाज नेपालको समन्वयमा यस्तो बीमा गरिन लागेको हो। यि संस्थाका आधिकारिक प्रतिनिधिहरुले गरेको सिफारिसका आधारमा बिपन्न वर्गका सदस्यको ५० हजार रुपैंयाको निःशुल्क कोरोना बीमा गरिने छ।

शुल्क तिरेर बीमा गराउन चाहनेहरुले पनि यी संस्थाका प्रतिनिधि र पर्यटनमन्त्री भट्टराईको सचिवालयमा सम्पर्क गर्न सक्ने ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले जानकारी दिए।

ताप्लेजुङ समाज नेपालका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फेले विपन्न समुदायका सदस्यको कोरोना बीमाका लागि ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभाका सांसद तथा पर्यटनमन्त्री भट्टराईको सहयोगमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

प्रेश संगठन नेपालको समन्वयमा यसअघि ताप्लेजुङका क्रियाशिल पत्रकारहरुको जनही १ लाख मूल्य बराबरको कोरोना बीमा गर्दा समेत मन्त्री भट्टराईले नै आर्थिक सहयोग गरेका थिए। नागरिक न्यूजबाट