बिर्तामोड । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले सरकारले प्रस्ताव गरेको धानको समर्थन मूल्य तोक्ने विषय कार्यान्वयनमा जोड दिएका छन् ।
आन्तरिक उडान शुरु भएसँगै झापा आएका मन्त्री भुसालले सोमबार साँझ विर्तामोडमा झापाका अगुवा सहकारीकर्मीसँग छलफल गर्दै आमकिसानको हितका लागि आफ्नो मन्त्रालयले प्रस्ताव गरेको धानको समर्थन मूल्य तोक्ने सन्दर्भमा सहयोग गर्न आग्रह गरे ।
विर्तामोड नगरपालिकाको सभाहलमा आयोजित संक्षिप्त कार्यक्रमका बीच मन्त्री भुसालले तल्लो तहका किसानले आफूले गरेको लगानीमा उचित मुनाफा आर्जन गर्न नसकुञ्जेल कृषि क्षेत्रको विकास असम्भव हुने बताउँदै पहिलो चरणमा धानमा किसानलाई लाभ सुनिश्चित गर्न खोजेको बताए ।
उनले धान उत्पादनमा प्रदेश १ अग्रणी रहेकोले छलफलको शुरुआत यहीबाट गर्न खोजेको बताउँदै धानपछि अन्य खाद्यान्न, दलहन, तेलहन लगायतका कृषि वस्तुमा समर्थन मूल्य तोकेर कृषकलाई कृषि कर्ममा लागिरहन प्रेरित गर्ने आफ्नो मन्त्रालयको योजना रहेको उल्लेख गरे ।
झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना समेतको उपस्थिति थियो ।