इलाम । इलामको नयाँ पर्यटकीय गन्तव्य मानिएको महभीरको दिदी बहिनी झरनामा पर्यटकको आकर्षण बढ्दै गइरहेको छ । इलाम नगरपालिका–३ पुवामझुवामा रहेको झरनामा विभिन्न स्थानका व्यक्तिहरुको आवागमन बढ्न थालेकाले यसको आकर्षण बढ्न थालेको हो ।
पालिकाको मुख्य बजार सदरमुकामबाट करिब २० किलोमिटर मेची राजमार्गको यात्रामा रक्सेको बाघखोर पुगिन्छ । बाघखोरबाट अढाई किलो मिटरको कच्ची सडकको यात्रा गरेपछि झरनाको छेवैमा पुग्न सकिन्छ । पुग्नलाई उत्ति गाह्रो नभए पनि प्रचार प्रसारको अभावमा यी दुई झरना ओझेलमा परेका थिए ।
जिल्ला बाहिरकाको त कुरै छोडौं जिल्लाभित्रका धेरैलाई समेत थाहै नभएकाले यस झरना आसपास कोही पनि भेटिदैन थिए । तर, अहिले भने शनिबार दुई सय अन्य दिनमा भने २५ जनाको सङ्ख्यामा आन्तरिक पर्यटक झरना अवलोकनका आउन थालेको दिदीबहिनी झरना संरक्षण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर राईले बताए ।
उनले भने, ‘अहिले भने जिल्लाका इलाम, सुर्योदय, देउमाई नगरपालिका, फाकफोकथुम, माङ्गसेबुङ र सन्दकपुर गाउँपालिकाका पर्यटक आउने गरेका छन् ।’ लकडाउनभन्दा अगाडि भने काठमाण्डौँ, मोरङ, झापा, पाँचथर लगायतका स्थानबाट पर्यटक आउने गरेका थिए ।
उनका अनुसार, नजिकैको दूरीमा दुई झरना भएकैले यस झरनालाई दिदी बहिनी झरना नामाकरण गरिएको हो । लेकाली हावापानीमा एकै स्थानमा दुई झरनाको दृष्यावलोकनले पर्यटकलाई रोमाञ्चित बनाउँछ । यसले पनि पर्यटकलाई आकर्षित गराउनमा सहयोग गरेको बताइएको छ ।
कुहिरोसँग लुकामारी खेल्ने यी दिदी बहिनी झरनालाई नियाल्न आन्तरिक पर्यटकहरुको आगमनसँगै स्थानीय हर्षित भएका छन् । झरना नजिकै स्थानीय अग्र्यानिक खानपिन उपलब्ध गराउने भावी योजना समेत रहेको उनले जानकारी दिए । यस क्षेत्रमा टिमुर, चिमफिङ्ग, वनसुपारी, चिराइतो लगायत गरी २० प्रकारका जडीबुटी सहजै उपलब्ध हुन सक्छ ।
गएको दुई आर्थिक वर्षमा मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन समितिले २० लाख, प्रदेशको १० लाख आर्थिक सहयोग र स्थायीको छ लाख रुपैँया गरी ३६ लाखको लगानीबाट रेलिङ्गसहितको पदमार्ग, हावा घर (बिसाउनी स्थल) लगायतको निर्माणसँगै सौन्दर्यकरण गर्ने काम गरिएको छ ।
थप स्तरउन्नतीका लागि भर्खरै मात्रै संघीय सरकारले पठाएको टोलीले “महभीरको दिदी बहिनी झरना“ क्षेत्रको विस्तृत अध्ययन प्रतिबेदन तयार पार्नका लागि आफ्नो कार्य सकाएर फर्किएको स्थानीय पुवामझुवा पर्यापर्यटन विकास समितिका अध्यक्ष सोम सुनुवारले जानकारी दिए ।
हालसम्म वैज्ञानिक ढङ्गबाट ‘महभीरको दिदी बहिनी’ झरनाको उचाई नाप्ने काम नभए पनि करिब एक सय २५ फूट अग्लो रहेको स्थानीयबासीको अनुमान रहेको छ ।