इलाम । पछिल्लो समय स्थानीय तहले खेती प्रणालीलाई प्राङ्गरिक बनाउन लागेका छन् । रासायनिक मल र विषादीले मानव स्वास्थ्य र माटो बिगार्ने बुझेपछि स्थानीय तहहरू प्राङ्गारिक खेतीतर्फ उन्मुख भएका हुन् ।
इलामका सूर्योदय र देउमाई नगरपालिकामा प्राङगारिक खेती प्रणाली अपनाउन किसानलाई सहयोग समेत गर्दै आएका छन् ।
कृषि ज्ञान केन्द्रबाट प्राङ्गारिक खेतीका लागि यस वर्ष मात्र एक करोड ७० लाख बजेट विनियोजन भएको छ ।
ती स्थानीय तहमा क्लष्टर छनोट गरेर कार्यक्रम कार्यान्वयन गरिने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख टोनी बर्देवाले बताउनुभयो ।
सरकारले प्राङ्गारिक उपजको प्रमाणीकरण, प्राङ्गारिक उत्पादनको प्रशोधन, रासायनिक विषादीको प्रयोग नगरी गरिने उत्पादन र परम्परागत पद्धतिबाट हुने कृषि उत्पादनको प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको हो ।
त्यसका लागि प्राङ्गारिक खेती पद्धतिको लागि सचेतना अभिवृद्धि गर्ने, प्राङगरिक उत्पादनका लागि आवश्यक सामग्रीमा सहयोग गर्ने, प्रविधि हस्तान्तरण गर्नेदेखि बजारीकरणसम्ममा सहयोग पुग्ने क्रियाकलाप सञ्चालन हुनेछन् ।
त्यस्तै उत्पादन विविधीकरण गर्ने, उत्पादित वस्तुको प्याकेजिङ लेवलिङ गरेर मूल्य अभिवृद्धि गरिने पनि कार्यक्रम रहेको जनाइएको छ ।