अर्जुनधारा । शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको आठौं साधारणसभा शनिबार शनिश्चरेमा सम्पन्न भएको छ ।
विगत वर्षहरुमा जिल्लाभरिका शेयर सदस्य शिक्षकहरु भेला गरेर आयोजना हुने गरेको साधारण सभा कोभिड १९ को महामारीको कारण यस वर्ष हरेक स्थानीय तहमा खण्डीकृत रुपमा आयोजना हुँदै आएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठनको कार्यालयसँगैको सभाहलमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पूरा गरी आयोजित सभामा संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमले वार्षिक प्रतिवेदन पेश गरेका थिए । सभाले उक्त प्रतिवेदनलाई सुझाव सहित पारित गरेको छ ।
आव २०७६/७७ मा संस्थाको शेयर पुँजी ७० लाख ३६ हजार १०० र निक्षेप १ करोड, ४४ लाख ६ हजार ३४२ रुपैयाँ ५० पैसा रहेको छ ।झापा जिल्लाका सबै स्थानीय तहका विभिन्न विद्यालयका १२३३ शिक्षकहरु संस्थाका शेयर सदस्य रहेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख, उपसचिव राजकुमार विकको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा पेशागत महासंघ, झापाका उपाध्यक्ष नगेन्द्र खनाल, नेपाल शिक्षक महासंघ, अर्जुनधाराका अध्यक्ष पुण्य सुवेदीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपसचिव विकले शिक्षकहरुले संस्थाको हित हुने कार्य गरे संस्थाले पनि शिक्षकहरुको हित गर्ने बताउँदै महामारीको वर्तमान अवस्थामा भर्चुअल माध्यमबाट वा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर प्रत्यक्ष माध्यमबाट भए पनि शिक्षक र विद्यार्थी बीचको सम्पर्क टुट्न दिन नहुने र नेपाल सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ लाई सबै मिलेर आआफ्नो अवस्था अनुकुल कार्यान्वयन गर्नुपर्ने बताए ।
सोही सभाबाट संस्थाको स्थानीय संयोजन समिति समेत गठन भएको छ । रुद्र खतिवडा संयोजक रहेको समितिमा जयप्रकाश भण्डारी, लोकनाथ दाहाल, कुमार मिश्र र सिर्जना रोक्का सदस्य चयन भएका छन् । संस्थाका अध्यक्ष गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रुद्र खतिवडाले र स्वागत संस्थाका उपाध्यक्ष हरि न्यौपानेले गरेका थिए ।
अर्जुनधारामा संस्थाका १०९ शेयर सदस्य शिक्षकहरु रहेका छन् । असोज २६ गतेदेखि शुरु भएको संस्थाको आठौं साधारणसभा यसअघि ११ स्थानीय तहहरुमा सम्पन्न भैसकेको छ ।