निशेष राई,

झापा । चिसोयाम शुरू भएसंगै झापाको दक्षिणी क्षेत्रका स्थानीय बजार तथा चौकहरूमा भाक्का व्यवसाय शुरू भएको छ । अधिकांश मानिसहरुले विहानी खाजाको रूपमा मन पराउने भाक्का झापाको दक्षिणी क्षेत्र गौरादह र गौरीगंजको विभिन्न बजार र चौकहरूमा त्यसको व्यवसाय शुरू भएको हो ।

भाक्का बिशेषगरी तराई क्षेत्रमा जाडो महिना सुरु भएपछि बनाइन्छ । भाक्कालाई तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायहरुको पहिचानको रुपमा पनि लिइन्छ । तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायहरुले जाडो लागेपछि भाक्का बनाउने गर्दछन् ।

तराई क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिसहरुले जाडो महिना लागेपछि भाक्कालाई खाजाको रुपमा खाने गर्दछन् । पानीको बाफमा पकाइने भाक्का पाक्नसाथ तातै खाँदा स्वादिलो हुने भएकाले जाडोमा पकाइने गरेको हो ।

चौक तथा बजारमा भाक्का पकाउन सुरु भएपछि अधिकांश मानिसहरु खाजाको रुपमा भाक्का खान आउन थालेका छन् । जाडो मौसममा बनाइने भाक्काले बिशेषगरी जनमजदुरलाई फाइदा भएको देखिन्छ । चामलबाट बनाइएको पिठोलाई पानीको बाफमा पकाइन्छ । पिठोमा पानी बाहेक अरु केही पनि मिसाइन्दैन ।

केही पनि नमिसाई पकाईने भएकाले सबैले भाक्का खान रुचाउने गर्दछन् । यो साधारण अचारको साथमा पनि खाने गरिएको छ । यसलाई चियासँग खाँदा खाजाको रुपामा लिइन्छ । भक्कामा चिल्लो पदार्थ, मरमसला केही पनि नमिसाईने भएकाले स्वास्थ्यका लागि समेत फाईदाजनक मानिन्छ ।

दक्षिणी क्षेत्रका चौक तथा मुख्य बजारहरुमा जाडो महिना लागेपछि बिहान भाक्का पकाउने गरिन्छ भने खानेहरुको पनि भिड लाग्दछ । दक्षिणी क्षेत्रका मुख्य बजारहरु गौरादह, ग्वालडुब्बा, गौरीगंज, दामुनाका साथै अन्य सानातिना बजार तथा चौकहरुमा पनि भाक्का पकाई बिक्री गर्ने गरेका छन् ।