झापा । पछिल्लो समय झापा जिल्लामा सामूहिक केरा खेतीमा कृषकहरुको आकर्षण बढ्न थालेको छ । धान, मकै लगायतका अन्य बालीको तुलनामा राम्रो आम्दानी हुने पछि जिल्लाका किसान सामूहिक व्यावसायिक केरा खेतीमा आकर्षित भएका हुन् ।

धान, मकै, गहुं लगायतका अन्य बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि जिल्लाका कृषकहरु सामूहिक केरा खेतीमा लागेका हुन् । जिल्लाको बाह्रदशी गाउंपालिका ७ स्थित बत्तिस बिघे क्षेत्रका कृषकले दुर्गा माता कोला खेती तथा कृषि फार्म मार्फत बिगत तीन बर्षदेखि सामुहिक केरा खेती गरिरहेका छन् ।

स्थानीय ३५ घर परिवारले आ–आफ्नो निजी जमिन सहित भाडाका जग्गामा केरा खेती गरेका हुन् । तीन बर्ष अघि तीन जनाले बाह्र बिघा जमिनमा सुरु गरेको केरा खेती अहिले एक सय ५० बिघा बढी क्षेत्रफलमा विस्तार भएको फार्मका अध्यक्ष लक्ष्मीप्रसाद चिमरीयाले जानकारी दिए । केही साथीसंग मिलेर तीन बर्षअघि सुरु गरेको केरा खेतीले राम्रो आम्दानी गरेपछि ७ नम्बरका केही छर–छिमेकसहित भएर खोलिएको केरा खेती अहिले विस्तार गर्ने क्रममा रहेको अध्यक्ष चिमरीयाको भनाई छ ।

दुर्गा माता फार्मले अहिले जिल्लाको झापा गाउंपालिका, कन्काई नगरपालिका र बाह्रदशी गाउंपालिकामा गरि १ सय ५० बिघाभन्दा बढी जमिनमा केरा खेती गर्दै आएको अध्यक्ष चिमरीया बताउंछन् । राम्रो आम्दानी भएसंगै केरा खेती बिस्तारका लागि अन्य १६ बिघा जमिन भाडामा लिएको पनि उनले बताए ।

केरा फार्ममा अहिले एक दर्जनभन्दा बढीले दैनिक रोजगारी समेत पाएका छन् । कृषकले अहिले माल्बो, चिनी चम्पा लगायतका केरा लगाएका छन् । धान, मकै लगायतका बाली लगाउंदा खर्च धान्नै मुस्किल परेको अनुभव सुनाउने कृषक अहिले सामूहिक केरा खेतीमा लागेसंगै जीवनस्तर परिवर्तन भएको सुनाउंछन् ।

अन्य बाली लगाउंदा खर्च धान्न मुस्किल हुने गरेको थियो स्थानीय कृषक चुडामणी चिमरीया भन्छन्, ‘अहिले प्रतिबिघा ४ देखि ५ लाखसम्म खर्च कटाएर मुनाफा हुंदा हामी दङ्ग छौं ।’ केही बर्षअघि पहिलो पटक यस क्षेत्रमा केरा खेती गरेका चुडामणीले अन्यलाई पनि केरा खेती गर्न सुझाएका थिए ।

उत्पादित केराको बजारको समस्या भने नभएको कृषक सुजन चिमरीया बताउंछन् । उत्पादित केरा खरिदका लागि बुटवल, पोखरा, काठमाण्डौं लगायतका स्थानबाट ब्यापारी फार्ममा नै आउने गरेको उनी बताउंछन् । केरा खेतीका लागि सरकारले कृषकलाई आवश्यक मल, बिउ र प्राविधिक सहयोग गर्ने हो भने भारतबाट आयातित केराको बजारलाई केही बर्षमै प्रतिस्थापन गर्न सकिने कृषक बताउंछन् ।