झापा । तिहार नजिकिँदै गर्दा झापा बाह्रदशी गाउँपालिका ६ कुमाल बस्तीका केटाकेटीदेखि लिएर बृद्धबद्धासम्म यतिबेला पाला बनाउन व्यस्त छन् ।
तिहारमा दियो बाल्न पालाको अत्यधिक माग हुने भएकाले बिक्रीका लागि कुमाल समुदायलाई पाला बनाउन भ्याइनभ्याइ भएको हो । यतिबेला माटोको पाला बनाउने, सुकाउने, रंग्याउने र पोल्ने काममा कुमाल समुदायका सपरिवार खटिएका छन् ।
स्थानीय प्रदीप पण्डित विगत १५-२० दिनदेखि लगातार चक्रमा पाला बनाउन लागिरहेका छन् । मोटर जडान गरिएको चक्रमा उनी निरन्तर पाला बनाउँदैछन् । दिनभरि उनी २ हजारजति पाला बनाउँछन् । ती काँचो पालालाई उनकी आमा उर्मिलादेवी पण्डितले घाममा सुकाउने काम गरिरहेकी छिन् । सुकिसकेपछि त्यसलाई रंग्याउने पनि उनैले गरिरहेकी छिन् ।
रंग लगाइसकेपछि आगोको भट्टीमा पोल्ने काम भने उर्मिलाका श्रीमान् धनिश्वर पण्डितले गरिरहेका छन् । ५ जनाको उनीहरुको परिवारमा बृद्ध बुवाबाहेक सबैजना माटोको भाडा बनाउन जुटिरहेका छन् ।
छिमेककै १२ वर्षिया दुर्गा पण्डित पनि पाला सुकाउन व्यस्त छिन् । उनलाई १२ वर्षकै सुरज पण्डितले सघाइरहेका छन् । त्यस्तै घरछेउकै १४ वर्षिया विमला पण्डितलाई पनि माटोको भाडा रंग्याउन फुर्सद छैन । उनी साथीभाइलाई साथ लिएर घडामा रंग लगाइरहेकी छिन् ।
तिहारमा बिक्री गर्नका लागि पाला लगायतका माटाको भाडा तयार गर्न बाह्रदशी कुमाल बस्तीका कुमालहरु यतिबेला रातदिन नभनी लागिरहेका छन् । उनीहरुले बनाएको भाडा बाटोभरि विस्कुन सुकाएजसरी सुकाइएको छ । अरुबेला गमला, धुपौरो, खुत्रुके, नानीपैनी, घैलाजस्ता माटोका भाडा बनाउँदै आएका कुमालहरु यतिबेला पाला र घडा बनाउन बढी लागेका छन् ।
तिहारमा दियो बाल्न पाला र पूजा गर्न घडा आबश्यक हुन्छ । ‘यतिबेला सिजन हो’, धनिश्वर पण्डितले भने, ‘माग अनुसार पु¥याउन सकिएको छैन ।’ उनीहरुले बनाएको माटोको भाडा बिर्तामोड, दमक, केर्खा, धुलाबारी, बुधबारेलगायतका बजारमा बिक्री हुने गरेको छ ।
कुमालहरुले एकमुखे, चारमुखे र पाँचमुखे गरी तीन किसिमका पाला बनाउने गरेका छन् । एकमुखे पालालाई व्यापारीहरुले घरैबाट एक रुपैयाँ प्रतिगोटा किनेर लैजाने गरेको धनिश्वरले बताए । ‘बजारमा गएर बेच्यो भने दुई अढाई रुपैयाँ प्रतिगोटा बिक्री हुन्छ’, उनले भने ।
बाह्रदशी ६ मा करीव ४५ घरधुरी कुमालहरु रहेका छन् । त्यसमध्ये ८० प्रतिशतको मुख्य पेशा माटाको भाडा बनाउने हो । तर, यो सिजनमा बस्तीका सबै कुमाल परिवारले बिक्री गर्नका लागि माटाको भाडा बनाइरहेका छन् ।
घाग्रा खोलाको छेउमा रहेको कुमाल बस्तीका कुमालहरुले पुस्तौदेखि माटाको भाडा बनाउने पुख्र्यौली पेशा गर्दै आएका छन् । ‘माटाको भाडा बिक्री गर्दा राम्रै आम्दानी भइरहेको छ’, धनिश्वरले भने, ‘परिवारको गुजारा चलाउनलाई समस्या छैन ।’ तर, माटोको काम गरेर माटाको भन्दा राम्रो घर जोड्न नसकेको उनले वास्तविकता सुनाए । विगतमा जस्तो माटाको भाडा बनाउने पेशा सहज नभएको उनीहरुको भनाइ छ ।
उनीहरुका अनुसार भाडा बनाउन माटो र बनाएको भाडा पोल्न दाउराको समस्या भएको छ । १० हजार रुपैयाँ टिपर माटो किन्नु परेको प्रदीपले बताए । त्यस्तै पैसा हुँदा पनि दाउरा किन्न नपाएको उनले समस्या सुनाए ।
विगतको तुलनामा कुमालहरुले पुख्र्यौली पेशा छोड्दै गएको बाह्रदशी ६ का वडाध्यक्ष रत्नप्रकाश योङहाङ बताउँछन् । वैदेशिक रोजगारलगायतका अन्य पेशाप्रति केही कुमालहरु लागेकोले गर्दा पनि यस पेशाप्रति यो समुदायका युवाहरु विमुख भएको योङहाङको भनाइ छ ।