झापा । अघिल्लो वर्षको तुलनामा यसवर्ष झापामा धानको उत्पादन बढेको छ । रोग कीराको प्रकोप घट्नुका साथै धान खेतीको क्षेत्रफल पनि बढेकाले उत्पादनमा बृद्धि भएको हो । तर, उत्पादित धानले मूल्य नपाउँला कि भन्ने चिन्ता किसानमा छ ।

खेती गर्ने समयमा रासायनिक मलको अभाव भए पनि यो वर्ष झापाका किसानले अपेक्षा गरेभन्दा बढी धान फलाएका छन् । सिञ्चाई सुविधाको अभावका कारण आकाशे पानीको भरमा खेती गर्ने किसानले पनि यसवर्ष मनग्ये फाइदा लिएका छन् । पर्याप्त वर्षा भएकाले धान उत्पादन बढेको झापा बुद्धशान्तिका किसान धनबहादुर राईले बताउनुभयो ।

क्षेत्रफलमा भएको बृद्धि, उन्नत जातको बीउको प्रयोग र पर्याप्त सिँचाइ सुविधा लगायतका कारण अघिल्लो वर्षको तुलनामा यो वर्ष झापामा धानको उत्पादन बृद्धि भएको हो । कोरोनाका कारण खेती किसानीमा पर्याप्त श्रम शक्ति खर्चिएकाले पनि उत्पादनमा बृद्धि भएको कृषि ज्ञान केन्द्र झापाका अर्थ कृषिविज्ञ शालिकराम भट्टराई बताउँनुहुन्छ ।

यसवर्ष झापामा चार लाख १५ हजार छ सय २५ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्ष तीन लाख ८१ हजार नौ सय ३७ मेट्रिकटन धान उत्पादन भएको थियो । नेपालमा सबै भन्दाबढी धान उत्पादन हुने जिल्लाका रुपमा रेकर्ड बनाएको झापामा यसवर्ष किसानले ८५ हजार ७ सय ५० हेक्टरमा धान खेती गरेका थिए ।

अघिल्लो वर्षको तुलनामा धान खेतीको क्षेत्रफल नौ सय ७५ हेक्टर थपिएको हो । पर्याप्त पानी परेपछि किसानले सिञ्चाई सुविधा नहुने जमिनमा पनि धान लगाएका थिए । झापाका किसानले पाँच हजार हेक्टर क्षेत्रफलमा कालो नुनिया जातको धान लगाएको भट्टराई बताउँनुहुन्छ ।

नेपालमा सूचीकृत नभए पनि रञ्जित जातको धानमा झापाका किसानको आकर्षण देखिएको छ । यसवर्ष रोग कीराको प्रकोप पनि कम भएकाले अपेक्षा गरे भन्दाबढी धान फलेको अर्जुनधाराका किसान तेजस्वी रिजालको अनुभव छ ।