तेह्रथुम । तेह्रथुममा परम्परागत बाली मास्दै नगदेबाली किवीतर्फ आकर्षित भएका किसानहरु निराश हुन थालेका छन् । किवी उत्पादन भए पनि बजार मूल्य नपाउँदा उनीहरु झनै निराश भएका हुन् ।

उत्पादन भएर पनि बजार नपाउँदा तेह्रथुम छथर, सुदापका किवी किसानहरु यतिबेला चिन्तित बनेका छन् । गत वर्षसम्म राम्रो मूल्यमा बिक्री हुँदै आएको किवी यो वर्ष बिक्री हुने सिजन बित्न लागिसक्दा पनि बिक्री हुन सकेको छैन भने बजारमा माग पनि छैन ।

बगानमा लटरम्म फलेको किवी बिक्री नहुँदा सोचेजस्तो आम्दानी लिन नसकेको छथर गाउँपालिका–६, सुदापका किसान टेकबहादुर मगरले बताउनुभयो । घमाइलो तथा मलिलो माटोमा खेती हुने किवीबाट राम्रै आम्दानी लिने आशा गरेका यहाँका किसान अहिले बजार नपाउँदा समस्यमा परेका छन् ।

एउटै बगानबाट वर्षको तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको थियो । गत वर्षसम्म प्रतिकिलो २०० रुपैयाँसम्म बिक्री हुँदै आएको भएपनि यस वर्ष भने ६० रुपैयाँमा पनि बिक्री नभएको जितबहादुर मगरको भनाइ छ ।

सुरुका दिनहरुमा राम्रो मूल्य पाएपछि हौसिएका यहाँका किसान यो वर्ष भने निराश भएका छन् । खेतीलाई विस्तार गर्दै गाउँलाई बिक्री पकेट क्षेत्रको रुपमा विकास गर्दै आएका छन् ।

थोरै क्षेत्रफलमै धेरै उत्पादन गर्न सकिने भएपछि किसानले किवी खेती रोजेको किसान गोविन्द बागदास बताउनुहुन्छ ।
स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरण हुन नसक्दा उत्पादन भएरपनि किसानहरुले आम्दानी लिन सकिरहेका छैनन् ।

किसानहरुको समस्यालाई मध्यनजर गर्दै बजारीकरणमा सरकारले चासो दिन सके गाउँमै उत्पादन भएको वस्तुबाट राम्रो आम्दानी लिन सकिने थियो । इमेज खबरबाट