राजु पौडेल,
झापा । झापाको भद्रपुर भन्सार कार्यालयमा व्यापारी, तस्कर र कर्मचारीकै मिलेमतोमा राजस्व चुहावटको धन्दा चलिरहेको पाइएको छ । सेटिङमा नक्कली जीएसटी (गुड्स एण्ड सर्भिस ट्याक्स) बिल बनाएर भन्सार कागजात मिलाउने, कम राजस्व तिरी बढी सामान लैजाने र रातारात तस्करका सामान कटाउन कर्मचारी नै सेटिङ्गमा बस्ने गरेको तथ्य खुलेको छ ।

झापाको सिमावर्ती भारतीय नाका भद्रपुरको मेचीनदीपारिबाट रातारात लत्ताकपडा, कस्मेष्टिक, खाद्यान्न र माछा लगायतका सामाग्री नेपाल भित्र्याइन्छ । सेटिङ्गमा भारतबाट जीएसटी बील नकाटि निर्वाध यस्ता सामाग्री भन्सारसम्म आइपुग्छन् ।

भन्सारमा आयात गर्ने वस्तुहरुका लागि जीएसटी बील अनिवार्य हुने भएकाले व्यापारी तथा तस्करले नक्कली जीएसटी बील बनाउछन् । उक्त जीएसटी बील र भारतीय बिक्रेताको नक्कली बील समेत भन्सार कार्यालयकै छेऊमा खुलेआम बनाउने र उक्त बील ५ सय देखी एकहजार रुपैयाँमा किनबेच हुने गरेको भेटिएको छ ।

यसरी नक्कली जीएसटी बिल लगायतका आवश्यक भन्सार कागजात पु¥याएपछि व्यापारी तथा तस्करले भन्सारका कर्मचारीलाई घुस खुवाएर कम राजश्वतिरी धेरै परिमाणमा सामान लैजाने गरेका छन् । भन्सारका कर्मचारीलाई घुस रकम लेनदेन गर्न र आवश्यक कागजात मिलाउन जाँचपास तथा व्यापार सहजीकरण शाखामा भित्र गोप्य कोठा बनाइएको छ । जसमा भन्सारका कर्मचारी, व्यापारी र तस्करबाहेक अरुलाई प्रवेश सहज छैन । त्यही कोठामा अवैध लेनदेन हुने गरेको छ ।

यतिमात्रै होइन, भन्सारमा अवैध धन्दा चलाउनकै लागि कर्मचारी रातिसम्म कार्यालयमै चलचित्र हेर्दै बस्ने गरेको समेत पाइएको छ । यसरी भद्रपुर भन्सारमा कर्मचारी, केही व्यापारी र तस्करको मिलेमतोमा बर्षौंदेखि राज्यको राजश्वमा चरम दोहन गरिरहेका छन् ।

बार्गेनिङ नमिल्दा मात्रै भन्सारमा कडाई
सीमा नाका बन्द भएपछि अहिले भन्सारभित्रबाटै राजस्व चुहावटको धन्दा मिलेमतोमा हुने गरेको छ। रकमको बार्गेनिङ मिलेमा भन्सारबाट जेसुकै सामान कम राजस्व तिरेर निकाल्ने काम मात्र होइन पोका समेत गायब पारिन्छ।

तर, बार्गेनिङ मिलेन भने कर्मचारीले व्यापारीलाई ‘प्यानल्टी’ वा गाडीमा सामान बढी हालिएको भन्दै जफत गरेर देखाउँछन्। यस्तै एउटा घटना गत आइतबार घटेको छ भद्रपुर भन्सार कार्यालयमा। भन्सारबाट एक कारोबारीले सस्तो सामानको भन्सार राजस्व तिरेर महँगो सामान लैजान खोज्दा उक्त घटना बाहिरिएको हो।

आइतबार दिउँसो मोटर पार्टसको कारोबार गर्ने भद्रपुर नगरपालिका-५ का सिकन्दर खानले कम राजस्व पर्ने सामानको भन्सार कर तिरेर बढी कर लाग्ने सामान गाडीमा लोड गरेर भन्सारभित्रबाटै निकाल्न खोज्दा गाडीमा बढी सामान भेटिएको हो। भन्सार कर्मचारीसँग सेटिङ नमिलेर उक्त कर्तुत बाहिरिएको एक कारोबारीले बताए।

यता भन्सार कर्मचारीले चेकजाँच गर्दा बढी सामान भेटिएको प्रतिक्रिया दिएका छन्। भन्सारमा गाडीमा लोड भइसकेको सामान कर्मचारीले पुनः चेकजाँच गरेको अहिलेसम्म रेकर्ड नै नभएको कारोबारीको दाबी छ। तर, भन्सारका नायव सुब्बा रेवती गिरीले शंका लागेर गाडीमा लोड गरिएको सामान चेकजाँच गर्दा बढी भेटिएको प्रतिक्रिया दिएका छन्।

कर्मचारीले सामान गाडीबाट झिकेपछि सिकन्दर खानले लोड गरेको सामान आफ्नो नभएको र लेबरले झुक्किएर अरूको सामान लोड गरेको बताएपछि खानले भन्सारमा राजस्व तिरेको सामान मात्र लगेको कर्मचारी गिरीले बताए।

भद्रपुर भन्सार सुरक्षा एवं राजश्व चुहावट नियन्त्रणको जिम्मेवारी लिएर बसेका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक विभुराज दाहालले कारोबारी खानले नियोजित रुपमा बदमासी गरेको बताए।

मेची नदी किनारकै कुनै व्यक्तिलाई फसाउन अर्कैको सामानसँग मिसाएर आफ्नो भन्सार राजस्व नतिरेको सामान निकाल्न खोज्दै गर्दा भन्सार कर्मचारीले बढी सामान बरामद गरेको बताउँदै प्रहरी निरीक्षक दाहालले बताए। उनले भने, ‘बढी बरामद गरिएको सामान कारोबारी सिकन्दरकै भएको र सो सामान आवश्यक कारबाहीका लागि भन्सारले राखेको छ।’

उता कारोबारी खानले भने आफूले तीन पोका सामानको भन्सार राजस्व तिरेर हाकिमलाई सही गराउन जाँदा लेबरले झुक्किएर भन्सार नभएको सामान गाडीमा लोड गरेको प्रतिक्रिया दिएका छन्। कर्मचारीलाई अर्कैको सामान भने पनि सामान भने आफ्नो भएको खानले स्वीकारेका छन्।

यता स्रोतका अनुसार कारोबारी खानले महँगो सामान भन्सार राजस्व छलेर भन्सारबाटै निकाल्ने योजना असफल भएपछि भन्सार जफत गराएको सामान निकाल्न लागि परेका छन्। कारोबारी खानले भन्सार निकट कर्मचारीसँग मिलेर घटना गुपचुपमा बनाएर सामान सजिलै तरिकाले पुनः भन्सारमा राजस्व तिरेर लैजान लागि परेका छन्। प्रक्रियाअनुसार भन्सारले जफत गरेको सामान स्वतः लिलामी प्रक्रियामा जानुपर्ने हुन्छ।