बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को २८औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा वार्षिक प्रतिवेदन आज सार्वजनिक गरिएको छ ।

संस्थाको बिर्तामोडस्थित कार्यालयमा गरिएको पत्रकार सम्मेलनमार्फत वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको हो । कोरोना महामारीका कारण ठूलो जमघट गरी साधारणसभा गर्नसक्ने अबस्था नभएपछि सदस्यको हात हातमा पुग्ने गरी पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्वजनिक गरिएको संस्थाका कार्यकारी प्रमुख लक्ष्मी उप्रेतीले बताए ।

संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले अध्यक्षको प्रतिवेदन सार्वजनिक गर्दै सुनगंगा बचत तथा ऋण सहकारी संस्था गौरीगञ्ज, सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्था मेचीनगर र बैगुनधुरा बचत तथा ऋण सहकारी संस्था गौरादहसँग एकीकरण गर्ने प्रक्रिया पूरा भइसकेको जानकारी दिए ।

उनले बैकिङ्ग व्यवसाय, एनएमसी डेरी उद्योग, एनएमसी एकीकृत नमूना कृषि फर्म, एनएमसी सहकारी पसल, एनएमसी चिया व्यवसायको गत वर्षको कारोबारको समीक्षा प्रस्तुत गरेका थिए ।

अध्यक्ष उप्रेतीले संस्थाको संक्षिप्त वित्तीय झलक प्रस्तुत गर्दै संस्थाको कूल पूँजी ९ अर्ब ४२ करोड ९ लाख ३१ हजार ४२८ रुपैयाँ पुगेको जानकारी दिए । उनले २०७६/०७७ मा १६ हजार २६६ नयाँ सदस्य थप भएको बताए । गत असार मसान्तसम्म सदस्य सँख्या ८५ हजार १३५ पुगेको बताउँदै आगामी वर्ष त्यसलाई बढाएर १ लाख ५३६ पुर्याउने लक्ष्य रहेको उप्रेतीले जानकारी दिए ।

कार्यक्रममा संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णु गौतमले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यकारी प्रमुख लक्ष्मी उप्रेतीले संचालन गरेको कार्यक्रममा संस्थाकी उपाध्यक्ष भगवती घिमिरेले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रममा सञ्चालक समितिका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

संस्थाको २८ औं वार्षिक साधारणसभा मंसिर २७ गते रहेको छ । त्यसअगावै प्रत्येक सदस्यहरुको हात हातमा प्रतिवेदन पुर्याउने कार्यकारी प्रमुख उप्रेतीले बताए । उनले भोलिदेखि नै ४० वटा कार्यालयमार्फत सदस्यहरुलाई प्रतिवेदन वितरण गरिने जानकारी दिए ।