बिर्तामोड । विश्वव्यापी कोरोना महामारीका कारण नेपालको पर्यटन व्यवसाय धरापमा परेको बेला सरकारले आगामी वर्षलाई आन्तरिक पर्यटन वर्षको रुपमा मनाउने भएको छ ।

नयाँ वर्ष सन् २०२१ लाई आन्तरिक पर्यटन वर्ष मनाउने सरकारले तयारी थालेको हो । त्यस विषयमा प्रधानमन्त्री केपी ओलीसँग छलफल भइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका हुन् ।

बिर्तामोडमा थ्रीस्टार लेवलको सिद्धार्थ होटल ग्रान्ड सिटी प्रालिको आज उद्घाटन गर्दै पर्यटन मन्त्री भट्टराईले कोरोना महामारीका कारण खस्किएको पर्यटन व्यवसायलाई माथि उठाउन आगामी वर्षलाई आन्तरिक पर्यटन वर्ष मनाउन लागिएको जानकारी दिए ।

‘यस विषयमा प्रधानमन्त्रीसँग छलफल चलिरहेको छ’, उनले भने, ‘सन् २०२१ मा नभए नेपाली नयाँ वर्ष २०७८ लाई मनाउँछौं ।’ मन्त्री भट्टराईले पर्यटकहरुलाई आकर्षित गर्नका आन्तरिक पर्यटनको प्याकेज बनाउन पर्यटन व्यवसायीहरुलाई आग्रह पनि गरे । जति नेपालीहरु नेपाल घुम्न आउँछन् त्योभन्दा धेरै नेपालीहरु विदेश घुम्न जाने गरेको तथ्यांक छ ।

घुम्न सक्ने वर्ग नेपालमा जन्मिएकाले आन्तरिक पर्यटनको संभावना नेपालमा राम्रो रहेको मन्त्री भट्टराईले बताए । उनले कोरोना महामारीका कारण अहिले बाह्य पर्यटकहरु नआएका बेला इलामको श्रीअन्तु, कन्याम, ताप्लेजुङको पाथीभरा, धनकुटाको भेडेटार, नाम्चेजस्ता पर्यटकीय क्षेत्रहरु राम्ररी चलेको उदाहरण प्रस्तुत गरे ।

आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नकै लागि आफूले आगामी वर्षदेखि शनिबार र आइतबार हप्ताको दुई दिन विदा दिने प्रस्ताव पेस गरेको उनको भनाइ छ । ‘दुई दिन विदा भयो भने मानिसहरु एक वा दुई रात घुम्न जान सक्छन्’, उनले भने, ‘त्यसबाट आन्तरिक पर्यटनलाई टेवा पुग्न सक्छ ।’

कोरोनाका कारण ठूलो आक्रमणमा परेका पर्यटन व्यवसायीहरुको आत्मबल कमजोर हुन नदिन आफूले प्रयास गरिरहेको उनको भनाइ छ । नागरिक उड्डयन मन्त्री भट्टराईले एयर स्पेसको समस्या भएकाले विराटनगर र भद्रपुरको विमानस्थल विस्तार गर्ने योजना रहेको बताउँदै भद्रपुर विमानस्थललाई उत्तर सार्ने कि दक्षिण भन्ने विवाद निजी भएको धारणा राखे । त्यस विषयमा आफूले फेरि सरोकारवालासँग छलफल गर्ने जानकारी दिए ।