झापा । झापाका व्यवसायीहरुको लगानीमा ५० करोड मूल्यबराबरको सिद्धार्थ होटल ग्राण्ड सिटी शनिबारदेखि बिर्तामोडमा सञ्चालनमा आएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले एक कार्यक्रमका बीच शनिबार होटलको उद्घाटन गरे । होटलले खाना र खाजामात्र बेच्ने नभएर पूर्वको पर्यटकीय क्षेत्रलाई प्याकेज बनाएर बेच्न सक्नुपर्ने उनको भनाइ थियो ।

होटल सञ्चालनमा ल्याउनु ठुलो कुरा नभएको प्रष्ट पार्दै उनले सर्भिस कस्तो हुन्छ भन्ने मुख्या कुरा भएको बताए । दक्ष जनशक्ति राखेर राम्रो सर्भिस दिन सक्नुपर्नेमा जोड दिएका उनले लगानीले मात्र पर्यटन र होटल व्यवसाय धान्न नसक्ने पनि उल्लेख गरे ।

कोभिड १९ ले पर्यटन व्यवसाय क्षेत्रमात्र नभएर सबै क्षेत्र तहस नहस पारेको प्रसंग निकाल्दै मन्त्री भट्टराईले जसोतसो ५० अर्बको पुनर्कर्जा कोष खडा गर्न सकिएको जानकारी गराउँदै पर्यटन व्यवसायीलाई पहिलो प्राथमिकतामा राखिएको बताए ।

देशभरका प्रमुख शहर एवं पर्यटकीय क्षेत्रमा सेवा विस्तार गर्न सफल सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिले सिद्धार्थ होटल ग्राण्ड सिटीसँग साझेदारी गरी सेवा शुरु गरेको हो । बिर्तामोडको मुख्य बजारमा खोलिएको होटलमा ३६ वटा डिलक्स, ६ वटा सुपर डिलक्ससहित ५१ वटा सुविधासम्पन्न कोठाहरु रहेका छन् ।

स्विमिङ पुल, हेल्थ क्लब, खुल्ला बगैँचा, सेमिनार हल, रुफ टपसहित ५ वटा बेग्लाबेग्लै रेष्टुरेन्ट, २ वटा कन्फ्रेन्स हल र चौबीसै घण्टा सेवा रहेको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका कार्यकारी निर्देशक कृष्ण न्यौपानेले बताए ।

५ कठ्ठा क्षेत्रफलमा फैलिएको सो होटलका लागि करिव ५० करोड रुपैयाँ खर्च भएको संचालकहरुले बताएका छन् । देवीप्रसाद मैनाली अध्यक्ष रहेको सो होटलको प्रबन्ध निर्देशकमा गोपाल मैनाली, संचालकमा डा लक्ष्मी मैनाली, डिल्लीराम मैनाली, होम पाण्डे, चित्र कुइकेल, कालीदास देवकोटा, तुलसी मैनाली, सुमन्ता मैनाली र होमप्रसाद मैनाली ‘सागर’ रहेका छन् ।

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिका कार्यकारी निर्देशक न्यौपानेले पश्चिमबाट उदय भएको सिद्धार्थ समूह पूर्वमा समेत सेवाग्राही माझ पुगेको बताए । २३ वर्षअघि कैलालीको टिकापुरबाट सानो खाजा घरबाट आफूहरुले सानो व्यवसाय शुरु गरी अहिले विस्तार भएर देशभर पुगेको उनले जानकारी दिए ।

पूर्वी नेपालका प्रमुख पर्यटकीय क्षेत्रहरु पाथीभरा, कन्चनजंघादेखि लिएर इलामका रमणीय चिया बगानलाई जोडेर पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने संचालकहरुले बिश्वास लिएका छन् । साथै होटलले भारतको पश्चिम बंगालका भारतीय पर्यटकहरुलाई नेपाल भ्रमणका लागि आउन प्रोत्साहित गर्ने अध्यक्ष देवीप्रसाद मैनालीले बताए ।

कार्यक्रममा संघीय सांसद गणेशकुमार पहाडी , प्रदेश सांसद एकराज कार्की, उद्योग परिसंघका प्रदेश अध्यक्ष मिनप्रकाश मैनाली, बिर्तामोड ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, बिर्तामोड उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीलगायतले शुभकामना मन्तब्य राखेका थिए । देवीप्रसाद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत होम पाण्डे र संचालन डिल्लीराम मैनालीले गरेका थिए ।