काठमाडौँ । नेपालले कोरोना माहामारीका कारण ०७६ चैत ९ गतेदेखि रोकेका भारतसहित सबै मुलुकका काठमाडौंका लागि हुने व्यवसायिक अन्तर्राष्ट्रिय उडान खुला गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार बुधबारको मन्त्रीपरिषद बैठकले मन्त्रालयलाई भारतसहित सबै मुलुकमा उडान सुरु गर्न अनुमति दिएको छ ।

‘नेपाल भारत उडानबारे बुधबारको सरकारको निर्णय सोमबार अबेर आइपुग्यो’, सीसीएमसीमा समेत रहेका सहसचिव लामिछानेले भने, ‘नेपाल भारत उडान सञ्चालन खुला भएको जानकारी आज परराष्ट्र मन्त्रालयमार्फत भारत र त्यहाँ रहेको हाम्रो दूतावासलाई पत्राचार गर्दैछौं ।’

उनका अनुसार भारतले प्रस्ताव गरेको एयर–बबल मोडललाई मन्त्रीपरिषदले अनुमोदन गरेको हो । यो मोडलमा नेपाल र भारतका वायुसेवाले दुवै देशका नागरिकलाई मात्रै सेवा दिने छन् । ‘अहिलेलाई बढीमा दुई फ्लाइट हुनेछन् । एउटा नेपाली वायुसेवाले गर्ने अर्को भारतीय करियरले गर्ने छ,’ सहसचिव लामिछानेले भने, ‘योसँगै सबै क्षेत्रका लागि नेपालले उडान खुला गरेको छ ।’ अब विदेशी वायुसेवाले यात्रु भएका रुटमा व्यावसायिक उडान गर्न पाउने छन् । पहिले जस्तो सीसीएमसी, परराष्ट्र, पर्यटन मन्त्रालयको विशेष अनुमति लिइरहनु पर्ने छैन ।

नेपालमा १६ वटा मुलुकका २६ वटा वायुसेवाले २१ वटा गन्तव्यबाट काठमाडौंका लागि व्यावसायिक उडान अनुमति लिएका छन् । नेपालसँग अन्तर्राष्ट्रिय उडान हुने मुलुकहरुमा जापान, दक्षिण कोरिया, चीन, हङकङ, थाइल्याण्ड, सिंगापुर, मलेसिया, भुटान, थाइल्याण्ड र बंगलादेशबाट उडान हुन्छ ।

त्यस्तै पश्चिममा भारतसहित मध्यपूर्वी मुलुकहरु कतार, कुबेत, मस्कट, युएई र टर्की छन् । अन्तर्राष्ट्रिय उडानमा नेपालका चार वटा वायुसेवा (नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्स, बुद्ध एयर र श्री एयरलायन्स) ले अनुमति पाएका छन् ।

नेपालले ०७६ चैत ९ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । ५ महिनापछि भदौं १६ मा शर्तसहित अन्तर्राष्ट्रिय उडान खुकुलो गरिएको थियो । नेपालले पीसीआर नेगेटिभ भएका यात्रुलाई आवागमन खुला गरेको छ भने पर्यटकलाई ७ दिन होटल आइसोलेसन अनिवार्यको नियम बनाएको छ । तर भारत र चीनले अझै पनि निशर्त नियमित उडान खुला गरी सकेका छैनन् ।