मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङ । तस्बिरः रासस

काठमाडौँ । प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरणको काम अब जिल्ला हुलाक कार्यालयबाटै हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बुधबार मन्त्रीस्तरीय निर्णयबाट सूचना विभागका महानिर्देशकमा निहित अधिकार जिल्ला हुलाक कार्यालयलाई प्रत्यायोजन गरेका हुन् ।

नयाँ प्रेस पास तथा अनलाइनको नवीकरण काठमाडौंस्थित सूचना विभागबाट हुँदै आएको छ । नेपाल पत्रकार महासंघले केही दिनअगाडि मन्त्री पार्वत गुरुङलाई भेटेर सामान्य कामका लागि जिल्ला–जिल्लाबाट पत्रकारहरू काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने माग गरेको थियो । महासंघले मन्त्रालय मातहत जिल्लाका हुलाक कार्यालयमार्फत प्रेससँग सम्बन्धित काम गराउने व्यवस्था मिलाउन सकिने सुझावसमेत दिएको थियो ।

मन्त्री गुरुङले प्रेस जगत्लाई सहज होस् भनेर जिल्ला हुलाक कार्यालयबाटै नयाँ प्रेस पास लिन तथा नवीकरण गराउन सकिनेलगायतका व्यवस्था मिलाइएको बताए । समय र आर्थिक भारको झमेलाबाट सञ्चारकर्मीलाई सहजता मिल्ने गरी हुलाक कार्यालयलाई प्रेससँग सम्बन्धित काममा सक्रिय बनाइने बताए । छापाखाना तथा प्रकाशनसम्बन्धी नियमावली २०४९ को नियम ९ मा प्रेस प्रतिनिधिको प्रमाणपत्रका लागि विभागका महानिर्देशकसमक्ष निवेदन दिनुपर्ने व्यवस्था छ ।

अब प्रेस पास र अनलाइनसम्बन्धी प्रक्रिया पुगेकाको निवेदन संकलनको काम जिल्ला हुलाकले गर्नेछ । अहिलेलाई संकलित निवेदन हुलाकले विभागमा पठाउने र विभागले त्यसमाथि आवश्यक निर्णय गरेर पुनः जिल्लास्थित हुलाक कार्यालयलाई पठाउने तथा हुलाकले सम्बन्धित व्यक्तिलाई प्रेस पास वा नवीकरणको प्रमाणपत्र हस्तान्तरण गर्नेछ । त्यसले केही समय लिए पनि आफ्नै जिल्लामा निवेदन दिने र त्यहींबाट आफ्नो प्रमाणपत्र संकलनको सुविधा सञ्चारकर्मीले पाउने विभागका महानिर्देशक किरणराज शर्माले बताए ।