इलामकाे चिया बगानमा चिया टिप्दै मजदूर । फाइल तस्वीर
0 Shares

इलाम । चियाको गुणस्तर बढाउन इलामसहित १२ जिल्लामा सीप विकास परियोजना सञ्चालन गरिने भएको छ । केन्द्रीय चिया सहकारी सङ्घको आयोजनामा उद्योगी, किसान र श्रमिकलाई दक्ष बनाउन ‘गुणस्तरीय चिया उत्पादनका लागि सीप विकास परियोजना’ शुरु हुने भएको हो ।

सो परियोजना युरोपेली सङ्घको लगानी र ब्रिटिस काउन्सिलको व्यवस्थापनमा सञ्चालन हुनेछ । कार्यक्रम चिया उत्पादन हुने इलामसहित पाँचथर, झापा, ताप्लेजुङ, मोरङ, धनकुटा, तेह्रथुम, उदयपुर, भोजपुर, सङ्खुवासभा, रामेछाप, ललितपुरका जनशक्तिलाई दिइनेछ ।

परियोजनाद्वारा सञ्चालित तालीममा इलाम पाँच, पाँचथर दुई, झापा, धनकुटा, तेह्रथुम, ललितपुर, सङ्खुवासभामा एक/एक वटा तालिम स्थान रहनेछ । तालिम ३ महिना अवधिको रहनेछ । सीप विकास तालीमबाट तीन सय दक्ष युवा जनशक्ति उत्पादन गरिनेछ ।गुणस्तरीय चिया उत्पादनका लागि आवश्यक पर्ने चिया प्राविधिक सहायकको सीप तालिममा सिकाइनेछ ।

छनोटमा परेका सबैलाई परियोजनाको साझेदार एफ स्किल प्रालि काठमाडौले प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद्को (सीटीइभीटी) ले तयार गरेको पाठ्यक्रमअनुसार गराउने साझेदार संस्थाका डा. सुमित अधिकारीले बताए ।

परियोजनाअन्तर्गत एक पटकमा २० जनालाई तालीम गराइनेछ । विभिन्न ठाउँमा गरेर परियोजनाअन्तर्गत रु तीन करोड ११ लाख ५६ हजार ४६३ खर्च गरिनेछ । कूल लागतमा रु दुई करोड १५ लाख ५० हजार तीन सय कार्यक्रममा खर्च गरिनेछ ।

यस्तै रु पाँच लाख १० हजार छ सय सञ्चालन खर्च गरिनेछ । रु १८ लाख ६५ हजार ५६३ प्रत्यक्ष खर्च गरिनेछ । रु दुई करोड ८५ लाख १६ हजार ४६३ दक्षताको कोष सहयोग, कार्यक्रम कार्यन्वयन गर्ने संस्था केन्द्रीय चिया सहकारी सङ्घ लिमिटेडको रु २६ लाख ४० हजार योगदान रहने सङ्घका अध्यक्ष गोविन्द दाहालले जानकारी दिए । रासस