सुजता सुनुवार,
इलाम । प्रदेश एकमा अहिलेसम्मकै धेरै धान उत्पादन भएको छ । उच्च पहाडी, मध्य पहाडी र तराई गरी प्रदेश १ का १४ जिल्लामा गरी झण्डै १३ लाख ११ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

यो उत्पादन गएको वर्षको तुलनामा एक लाख १२ हजार पाँच सय मेट्रिक टन बढी हो । गएको वर्ष ११ लाख ९८ हजार सात सय ४० मेट्रिकटन धान उत्पादन भएको थियो ।

मनसुन र पर्याप्त वर्षा हुनु, समयमै रोपाइँ हुनु, रोग कीरा नदेखिनु र उत्पादन क्षेत्रफल पनि बढ्नुलगायतका कारणले धान उत्पादन बढेको निर्देशनालयले जनाएको छ । उच्च पहाडी जिल्ला ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा गरी ६० हजार सात सय १४ मेट्रिक टन धान उत्पादन भएको छ ।

यस्तै मध्य पहाडी जिल्ला पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङमा दुई लाख ५५ हजार मेट्रिकटन धान उत्पादन भएको छ । साथै तराईका झापा, सुनसरी, मोरङमा नौ लाख ९५ हजार तीन सय ७७ मेट्रिकटन धान उत्पादन भएको निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले बताउनुभयो ।