कञ्चनजंघा आधार शिविर क्षेत्रमा पर्यटकलाई लक्षित गरि खोलिएका होटलहरु ।

ताप्लेजुङ । ताप्लेजुङस्थित कञ्चनजंघा आधार शिविर क्षेत्रमा पर्यटकलाई लक्षित गरि खोलिएका होटलहरु यतिबेला सुनसान छन् । कोरोना संक्रमणका कारण यो वर्ष पर्यटक नै नआए पछि यहाँका होटलहरु सुनसान बनेका हुन् ।

पर्यटकको आगमन नहुँदा कञ्चनजंघा पदमार्गमा दर्जनौ होटलहरु सञ्चालन गर्ने व्यवसायीहरु समस्यामा छन् ।अघिल्ला वर्षहरुमा कञ्चनजंघा आधार शिविर क्षेत्रका होटल व्यवसायीलाई स्वदेशी तथा विदेशी पर्यटकको सेवा गर्न भ्याईनभ्याई हुन्थ्यो ।

पर्यटनको सिजन चल्दा सदरमुकाम फुङलिङदेखि कञ्चनजंघाको प्रवेशद्धार मानिने घुन्सासम्मका होटलहरुमा पर्यटकको चहलपहल हुन्थ्यो । तर, संक्रमणका कारण यो वर्ष पर्यटकको आगमन नहुँदा पर्यटक लक्षित होटलहरु सुनसान छन् भने व्यवसायीहरु आर्थिक अभावमा परेका छन् ।

यस अघि वार्षिक ६-७ सयको हाराहारीमा विदेशी पर्यटक आउने गरे पनि यो वर्ष पर्यटकको आगमन अत्यन्तै न्युन रह्यो । कञ्चनजंघा आउने पर्यटकलाई नै लक्षित गरेर दुरदराजमा लाखौं रुपैयाँ खर्च गरेर होटलहरु खोलिएका छन् ।

कञ्चनजंघा पदमार्गमा पर्ने सेखाथुमदेखि माथिका सबै क्षेत्रका स्थानीयले होटल व्यवसायलाई नै मूख्य आमदानीको श्रोतका रुपमा लिएका छन् । तर, यो वर्ष त्यस क्षेत्रका बासिन्दाको आमदानीको बाटो बन्द जस्तै बने पनि संक्रमणले विश्व नै चपेटामा परेको देख्दा उनिहरु अभावकैबीचमा चित्त बुझाउन बाध्य छन् ।

कञ्चनजंघा आधार शिविर अन्र्तगत सेखाथुम, जापानटार, थाङ्ग्याम, आम्जिलेसा, ग्याब्ला, फले, घुन्सा, खम्बाचेन, लोनाक लगायतका ठाउँमा पर्यटक लक्षित होटलहरु खुलेका छन् ।

हिमाली क्षेत्रमा पर्ने यहाँका बासिन्दाले पछिल्लो समयमा होटल व्यवसायलाई नै प्रमुख आमदानीको श्रोतका रुपमा लिएर ठुलो लगानीका साथ होटल व्यवसाय सञ्चालन गरेका छन् । इमेज खबरबाट