काँकडभिट्टा । निर्माण भई सरकारलाई हस्तान्तरण भएको १० वर्षपछि काँकडभिट्टा सुक्खा बन्दरगाह निजी कम्पनीले चलाउने भएको छ ।

पटकपटक ठेक्का आह्वान गर्दा पनि निजी कम्पनीले चासो नदेखाउँदा एक दशकदेखि इन्टरमोडल यातायात विकास समितिले ‘स्टप ग्याप एरेजमेन्ट’ मार्फत सञ्चालन गर्दै आएको थियो ।

आर्थिक उदारीकरण, विश्व व्यापार संघमा प्रवेशपछिका चरण र सिद्धान्तअनुसार सरकार आफैंले व्यापार गर्न नमिल्ने प्रावधान भए पनि सुक्खा बन्दरगाह सञ्चालनमा निजी कम्पनीले ‘मिनिमम लिज होल्ड फी’ महँगो भएको वहानामा कुनै निजी क्षेत्र इच्छुक देखिएका थिएनन् । जसका कारण इन्टरमोडल आफैंले बाध्यतामा चलाउँदै आएको थियो ।

खासमा सुक्खा बन्दरगाह निर्माण भई सरकारलाई हस्तान्तरण गरेको ६ महिनाभित्र टेन्डरमार्फत निजी कम्पनीलाई चलाउन जिम्मा दिनुपर्थ्यो । तर यो बन्दरगाहको हकमा त्यस्तो हुन सकेन । अन्ततः लामो समयपछि बल्ल निजी कम्पनीलाई ठेक्कामार्फत सञ्चालन अनुमतिको बाटो खुलेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको इन्टरमोडलले गत साउन ३२ मा सञ्चालनका लागि बोलपत्र आह्वान गरेको थियो । जसमा तीन भारतीय, एक निजी र एक सरकारी कम्पनीले सञ्चालनका लागि आवेदन दिएका थिए । यसमध्ये ट्रान्स नेपाल फेड सर्भिसेज प्रालि विराटनगरले ठेक्का पारेको छ ।

इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक राधेकृष्ण मिश्राका अनुसार यो कम्पनीले पाँच वर्षका लागि १३ करोड २३ लाख ‘मिनिमम लिज होल्ड फी’ तिर्ने सर्तमा ठेक्का पाएको हो । समितिले ‘मिनिमम लिज होल्ड फी’ ९ करोड ६ लाख रुपैयाँ तोकेको थियो ।

‘आर्थिक र प्राविधिक दुवै मूल्यांकनका आधारमा यो कम्पनीले ठेक्का पाएको हो’, मिश्राले भने, ‘डेढ महिनाभित्र सञ्चालन जिम्मेवारी हस्तान्तरण गर्नेछौं ।’ ट्रान्स नेपाल फेड सर्भिसेज प्रालिसँग विराटनगरको संयुक्त जाँच चौकी र भैरहवाको सुक्खा बन्दरगाह सञ्चालनको अनुभवसमेत छ । कान्तिपुरबाट