नर्सरीमा रहेका फलफूल तथा जडिबुटी ।

शनिश्चरे । झापाको अर्जुनधारा-९ स्थित मिलनचौकमा जडिबुटीसँगै नर्सरीलाई व्यावसायिकरुपमा अघि बढाइएको छ । स्थानीय व्यवसायी दिनानाथ सिवाकोटीले शिव बाबा कृषि फर्म एण्ड नर्सरी सञ्चालनमा ल्याएका हुन् ।

विभिन्न प्रजातिका फलफूल, फूल, जडिबुटी, इन्डोर र आउटडोर प्लान्टलगायतका बिरुवाको उत्पादनसँगै व्यावसायिकरुपमा बिक्री वितरण गर्ने उद्देश्यले सो नर्सरी सञ्चालनमा ल्याइएको व्यवसायी सिवाकोटीले बताए । नर्सरीमा फलफूलतर्फ बाह्रमासे आँप, बाह्रमासे कटहर, बाह्रमासे कागती, एभोकाडो, ड्रागन फ्रुट, स्ट्रबेरी, काजु, लिची, रातो अम्बक र जडिबुटीतर्फ नागधोन, भृंगीराज, टिम्मुर, पत्थर चट्टा, पुर्ननवा, बोझो, चरीअमिलोलगायत २१ प्रजातिका बिरुवा पाइने सञ्चालक शिवाकोटीले जानकारी दिए ।

नगरलाई फलफूल, फूल, जडिबुटीलगायतका बिरुवामा आत्मनिर्भर बनाउन र रोजगारको सिर्जना गरी आर्थिक उपार्जन गर्नु पनि नर्सरी सञ्चालनको अर्को उद्देश्य भएको उनी बताउँछन् । प्रारम्भिक १० लाख रुपैयाँको लगानीमा हाल दुई कठ्ठा क्षेत्रफलमा सुरु गरिएको सो नर्सरीलाई थप विस्तार गर्ने योजना उनको रहेको छ ।

२५ रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्मको करिब दुई सय प्रजातिका बिरुवाहरु पाइने दाबी गरिएको उक्त नर्सरीमा तीन जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । नर्सरीमा उत्पादन भएका बिरुवाहरुलाई आगामी दिनमा देशभर नै पु¥याउने लक्ष्य उनको रहेको छ । नर्सरी सञ्चालनको पाँच महिनामा पाँच लाख बराबरको विभिन्न प्रजातिका बिरुवाहरु विक्री गरी उनले एक लाख रुपैयाँ नाफा आर्जन गरेको जानकारी दिए ।

त्यसैगरी उनले तीन कठ्ठा क्षेत्रफलको जग्गामा अमला, इन्चाङ, एभोकाडो, ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गरेका छन् । अचार उद्योग सञ्चालन गरिरहेका सिवाकोटीले लकडाउनको समयलाई सदुपयोग गर्दै नर्सरी व्यवसायलाई अँगालेको सुनाए । उनले यसअघि सयपत्री फूल, कागती र ड्रागन फ्रुटलाई प्राथमिकतामा राखेर तीन कठ्ठा जग्गामा खेती सुरु गरेका छन् ।