सांकेतिक तस्वीर ।

झापा । अबको तीन दिन देशभरको मौसम सफा रहने भएको छ । पश्चिमी वायुको प्रभाव सामान्य रहेकाले मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, तराईका जिल्लाहरुमा भने हुस्सु लागेको छ ।

अहिले देशका धेरैजसो ठाउँमा पातलो कुहिरो लागेको छ । अहिले गण्डकी, वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा कुहिरो लागेको छ भने बाँकी ठाउँमा मौसम सफा रहेको छ ।

पुस लागेसँगै चिसो ह्वात्तै बढेको थियो । मौसमी प्रणालीमा केही सुधार रहेकाले केही दिनदेखि तापक्रम बढ्न थालेको महाशाखाका मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । सामान्यतया कुहिरो लागेको समयमा तापक्रम बढ्ने मौसमविद् सापकोटाको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्रीमा झरेको छ । आज अधिकतम तापक्रम १९ देखी २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

आज दिउँसो प्रदेश नम्बर १ र वाग्मती प्रदेशका पहाडी भूभागमा कुहिरो लाग्ने र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, आज राति प्रदेश नम्बर १ का पहाडी ठाउँहरुमा केहि बदली रहनेछ भने बाँकी ठाउँमा मौसम सफा रहनेछ ।