प्रकाश नेपाल,
इलाम । आलु रोप्ने सिजन समाप्त हुनै लाग्दा इलाममा बिउ आलुको अभाव देखिएको छ । पर्याप्त शीत भण्डार नहुँदा यहाँका कृषकले आलुको जोहो गर्न पाएका छैनन् । जौबारीमा रहेको बागवानी विकास केन्द्र र कृषि अनुषन्धान केन्द्रले आलु बिउ कृषकलाई वितरण गरिरहे पनि पर्याप्त उपलव्ध हुन नसकेको हो ।

आलु रोप्ने सिजन जानै लाग्दा इलामका कृषकलाई बिउ आलुको हाहाकार भएको छ । आलु भण्डार गर्न पर्याप्त कोल्ड स्टोरको अभावमा बिउ आलु जोहो गर्न कृषकलाई समस्या हुने गरेको छ । जौबारीमा रहेको बागवानी र कृषि अनुषन्धान केन्द्रले कृषकलाई बिउ आलु विक्री गरे पनि माग अनुसार धान्न सकेको छैन ।

बागवानी विकास केन्द्रले जम्मा २४ सय मन आलु बिउ माग भएकोमा तीन सय मन मात्र कृषकलाई उपलव्ध गराउन सकेको जनाएको छ । बागवानीले जम्मा चार सय १२ मन आलु उत्पादन गरेको थियो । अनुसन्धान केन्द्रले दुई सय २० मन आलुको विउ कृषकलाई बिक्री वितरण गरेको थियो ।

स्थानीय जातका आलुमा बढी रोग लाग्ने भएकाले उन्नत आलुका बिउ रोप्न कृषि अनुषन्धान केन्द्रले सुझाएको छ । राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रमले सिफारिस भएका उन्नत जातका आलुमध्ये, जनकदेव, खुमल सेतो, डेजिरे, खुमल उज्वल जातको आलु उत्पादन गरेको छ ।

तत्कालीन आलु विकास केन्द्र रहेको इलामको जौबारीमा बागवानी केन्द्र र कृषि अनुसन्धान केन्द्रको स्थापना भएको थियो । केन्द्रले जम्मा आठ हजार चार सय रोपनी सरकारी जग्गामध्ये सीमित जग्गामा आलु अनुसन्धान र उत्पादन गरिरहेको छ ।